काठमाडौं। जर्मनीको लाइप्ट्सिक विमानस्थलमा गत महिना भएको ड्रोन हमलापछि रुस र पश्चिमा मुलुकबीच तनाव थप चुलिएको छ। जर्मनीले उक्त घटनामा मस्कोको संलग्नता रहेको आरोप लगाए पनि रुसले त्यसलाई आधारहीन भन्दै अस्वीकार गरेको बीबीसीले जनाएको छ।
जर्मनीका आन्तरिक मामिलामन्त्री आलेक्सान्डर डोर्बिन्टले लाइप्ट्सिकको घटना खुला युद्ध घोषणा नगरी सैनिक तथा गैरसैनिक रणनीति प्रयोग गर्ने रुसको ‘हाइब्रिड कारबाही’सँग मिल्दोजुल्दो रहेको बताएका छन्। घटनापछि जर्मनी र रुसले एकअर्काका सांस्कृतिक केन्द्र बन्द गराएका छन् भने बोनस्थित रुसी वाणिज्य दूतावाससमेत बन्द भएको छ।
नेटोका लागि अमेरिकी राजदूत म्याथ्यू ह्वाइटेकरले लाइप्ट्सिक घटनालाई युरोपमा भएका अत्यन्त चिन्ताजनक हाइब्रिड कारबाहीमध्ये एक भनेका छन्। यस्ता गतिविधि स्वीकार्य नहुने सशक्त सन्देश दिनुपर्ने उनको भनाइ छ।
बीबीसीका अनुसार सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि युरोपमा ड्रोन गतिविधि, आगजनी, तोडफोड, साइबर हमला, हत्या प्रयास र गलत सूचना फैलाउने घटना उल्लेख्य रूपमा बढेका छन्। तीमध्ये धेरै घटनामा युरोपेली मुलुकहरूले रुस वा रुससम्बद्ध सञ्जालमाथि आरोप लगाउँदै आएका छन्। मस्कोले भने आरोपहरू निरन्तर अस्वीकार गरिरहेको छ।
स्लोभाकियाको ब्राटिस्लाभास्थित अनुसन्धान संस्था ‘ग्लोब्सेक’ले सन् २०२२ को फेब्रुअरीदेखि सन् २०२६ को फेब्रुअरीसम्म युरोपविरुद्ध रुससँग सम्बन्धित १५१ गतिविधि पहिचान गरेको जनाएको छ। वास्तविक शंकास्पद घटनाको संख्या अझै बढी हुन सक्ने उसको आकलन छ।
ती घटनामा हत्या प्रयास, आगजनी, तोडफोड तथा सार्वजनिक स्थलमा अवरोध सिर्जना गर्नेसम्मका गतिविधि समेटिएका छन्। पोल्यान्ड, फ्रान्स, जर्मनी, लिथुआनिया, एस्टोनिया र बेलायतलगायत युक्रेनलाई समर्थन गरिरहेका मुलुक मुख्य निशानामा परेको ग्लोब्सेकको निष्कर्ष छ।
अमेरिकी ‘कङ्ग्रेसनल रिसर्च सर्भिस’को अध्ययनले पनि युरोपका रेलमार्ग तथा समुद्रमुनिका केबलमाथिको आक्रमण, राजनीतिक हस्तक्षेप, साइबर हमला र हवाई क्षेत्र उल्लङ्घनलगायत घटनामा रुसमाथि आरोप लागिरहेको उल्लेख गरेको बीबीसीले जनाएको छ।
बेलायतस्थित अनुसन्धान संस्थाकी एमिली फेरिसका अनुसार रुसले प्रत्यक्ष युद्धमा प्रवेश नगरी पश्चिमा मुलुकमा अस्थिरता र अव्यवस्था उत्पन्न गर्न खोजिरहेको छ। युक्रेनलाई सहयोग गरेबापत नेटो मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति बनाउनु मस्कोको उद्देश्य रहेको उनको विश्लेषण छ।
ग्लोब्सेकका शोधकर्ता माक्सिम बेज्नोसिउक रुसले नेटोको प्रतिक्रिया परीक्षण गरिरहेको बताउँछन्। युरोपेली साझेदारबीच रहेका राजनीतिक र कानुनी मतभेदको लाभ उठाउँदै कम लागत र कम जोखिममै ठूलो अवरोध तथा राजनीतिक चिन्ता सिर्जना गर्ने रणनीति मस्कोले अपनाएको उनको भनाइ छ।
जर्मनी, बेल्जियम, डेन्मार्क, नेदरल्यान्ड्स, फ्रान्स, नर्वे, स्वीडेन र बेलायतका सैनिक संरचना, विमानस्थल तथा अन्य संवेदनशील पूर्वाधारनजिक रुससँग सम्बन्धित भनिएका शंकास्पद ड्रोन देखिएका विवरण सार्वजनिक भएका छन्।
तर रुसमाथि लागेको आरोप भौतिक तोडफोडमा मात्रै सीमित छैन। युरोपेली सरकारहरूले नक्कली सामाजिक सञ्जाल खाता, अतिरञ्जित विवरण र कृत्रिम बौद्धिकता अर्थात् एआईबाट बनाइएका सामग्री प्रयोग गरी रुससम्बद्ध सञ्जालले गलत सूचना फैलाइरहेको आरोप लगाएका छन्।
फ्रान्समा सन् २०२७ को राष्ट्रपतीय निर्वाचनअघि प्रमुख राजनीतिक व्यक्तिलाई लक्षित गर्ने सम्भावित रुसी प्रभाव अभियानबारे अनुसन्धान भइरहेको छ। जर्मन अधिकारीले पनि क्षेत्रीय निर्वाचनअघि गलत सूचना फैलाएर लोकतान्त्रिक संस्थाप्रतिको विश्वास कमजोर पार्ने प्रयास हुन सक्ने चेतावनी दिएका छन्।
बीबीसीका अनुसार युरोपेली मुलुकले कूटनीतिक आवरणमा रहेका शंकास्पद रुसी गुप्तचरलाई निष्कासन गरेपछि मस्कोले तेस्रो देशका नागरिकलाई प्रयोग गर्न थालेको विज्ञहरूको विश्लेषण छ। ग्लोब्सेकको प्रतिवेदनले रुससँग सम्बन्धित आक्रमणमा जोडिएका १७२ मध्ये ९५ प्रतिशतको रुसी गुप्तचर निकायसँग औपचारिक सम्बन्ध नदेखिएको उल्लेख गरेको छ। यसले घटनामा रुसको संलग्नता प्रमाणित गर्ने काम कानुनी रूपमा जटिल बनाएको विज्ञहरू बताउँछन्।
रुसको ‘स्याडो फ्लीट’माथि पनि आशंका बढेको छ। पश्चिमा प्रतिबन्ध छल्न विदेशी झन्डा र दर्तामा सञ्चालन भइरहेका तेल ट्याङ्कर तथा व्यापारिक जहाजलाई ‘स्याडो फ्लीट’ भनिन्छ। सन् २०२४ यता त्यस्ता जहाज समुद्रमुनिका केबल र पाइपलाइनमा क्षति पुर्याउने तथा बाल्टिक र नर्थ सीका संवेदनशील पूर्वाधारनजिक निगरानी एवं ड्रोन गतिविधिमा प्रयोग भएको आरोप छ। रुसले यो आरोप पनि अस्वीकार गर्दै आएको छ।
नेटो र युरोपेली संघका सदस्य मुलुकले गुप्तचर सहकार्य बलियो बनाउने, महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा बढाउने तथा रुससम्बद्ध व्यक्ति, संस्था र जहाजमाथि प्रतिबन्ध विस्तार गर्ने काम गरिरहेका छन्। तर हाइब्रिड खतरा विकसित हुँदै गएकाले थप समन्वय आवश्यक रहेको अधिकारीहरूको भनाइ छ।
विज्ञहरू तत्काल रुसले नेटोसँग प्रत्यक्ष युद्ध चाहेको सम्भावना कम देख्छन्। तर उसले नेटोको पूर्वी क्षेत्रमा सीमित, अस्पष्ट र उत्तेजक गतिविधि बढाउन सक्ने उनीहरूको आकलन छ।
यस्ता कारबाही सस्तो, अवरोधकारी र जिम्मेवार पक्ष पहिचान गर्न कठिन रहुन्जेल मस्कोले युरोपको सहनशीलता र ‘लक्ष्मणरेखा’ परीक्षण गरिरहने बेज्नोसिउक बताउँछन्। फेरिसका अनुसार कुनै दुर्घटना, नागरिकको मृत्यु वा राजनीतिक रूपमा संवेदनशील घटनाले दुवै पक्षले नचाहेको ठूलो द्वन्द्व निम्त्याउन सक्छ।
त्यसैले अलोकप्रिय भए पनि रुस र नेटोबीच सञ्चार संयन्त्र पुनः सक्रिय बनाउनुपर्ने विज्ञहरूको सुझाव छ। सन् २०२२ को जनवरीयता निष्क्रिय रहेको नेटो–रुस परिषद् पुनर्जीवित गर्नुपर्ने फेरिसको तर्क छ।
उनका अनुसार यो रुसलाई तुष्टीकरण गर्ने विषय नभई गलत बुझाइका कारण अनियन्त्रित द्वन्द्व र मानवीय क्षति हुन नदिने प्रयास हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।