सोमबार, भाद्र २९,२०८३ 08:13:42
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 08:13:42
Bizshala
Global IME Bank Limited

आईसीयू अन्तर्वार्ता प्रकरणमा प्रेस काउन्सिल ‘एक्सन’मा, सेनाको अस्पतालसँग समेत जवाफ मागियो

आईसीयू अन्तर्वार्ता प्रकरणमा प्रेस काउन्सिल ‘एक्सन’मा, सेनाको अस्पतालसँग समेत जवाफ मागियो
New Office

काठमाण्डौ। नेपाली सेनाको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मै गम्भीर घाइतेसँग युट्युब अन्तर्वार्ता लिइएको संवेदनशील घटनामा प्रेस काउन्सिल नेपालले औपचारिक चासो देखाएको छ।

बिजशालाले आइतबार राति आईसीयूजस्तो अत्यन्त संवेदनशील उपचार कक्षमा क्यामेरा, कार्यक्रम सञ्चालक र प्राविधिक टोली प्रवेश गराएर बिरामीसँग लामो अन्तर्वार्ता लिन दिइएको विषय उठाएको थियो। त्यसको भोलिपल्टै प्रेस काउन्सिलले विज्ञप्ति जारी गर्दै सम्बन्धित श्रव्यदृश्य सामग्री आफ्नो ध्यानाकर्षणमा परेको जनाएको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

काउन्सिलले रसुवामा आएको बाढीमा माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका र अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिहरूसँग ‘Inside the Bunker’ नामक युट्युब च्यानलले अन्तर्वार्ता लिएर सम्प्रेषण गरेको सामग्रीप्रति ध्यानाकर्षण भएको स्पष्ट पारेको छ।

काउन्सिलको विज्ञप्तिमा अस्पतालको नाम खुलाइएको छैन। तर बिजशालाले यसअघि उक्त अन्तर्वार्ता काठमाण्डौको छाउनीस्थित नेपाली सेनाको अस्पतालको आईसीयूमा उपचाररत बाढीपीडित तथा उद्धारकर्तासँग लिइएको विषय सार्वजनिक गरेको थियो।

बाढीबाट उद्धार गरिएका व्यक्तिहरू शारीरिक तथा मानसिक रूपमा कमजोर अवस्थामा रहेको, उनीहरूमध्ये केहीलाई आईसीयूमा राखेर उपचार भइरहेको र संक्रमणबाट जोगाउनुपर्ने त्यस्तो संवेदनशील कक्षमै अन्तर्वार्ताका नाममा बाह्य व्यक्तिको प्रवेश गराइएको विषयले गम्भीर प्रश्न उठाएको थियो।

अन्तर्वार्तामा कार्यक्रम सञ्चालक र उपचाररत व्यक्ति मास्कविहीन देखिएका थिए। आईसीयूमा क्यामेरा र प्राविधिक उपकरण पुर्‍याउनुका साथै बिरामीलाई लामो समयसम्म बोल्न लगाइएको दृश्य सार्वजनिक भएपछि बिरामीको स्वास्थ्य सुरक्षा, गोपनीयता, सूचित सहमति र अस्पताल प्रशासनको जिम्मेवारीमाथि प्रश्न उठेको हो।

चिकित्सकीय दृष्टिले आईसीयू सामान्य अन्तर्वार्ता वा कार्यक्रम छायांकन गर्ने स्थान होइन। त्यहाँ उपचाररत बिरामीको अवस्था, संक्रमणको जोखिम र मानसिक संवेदनशीलतालाई ध्यानमा राखेर प्रवेश तथा भेटघाट अत्यन्त सीमित गरिन्छ। बिरामीले मौखिक सहमति दिएको अवस्थामा पनि उसको तत्कालीन स्वास्थ्य अवस्था त्यस्तो सहमति दिन सक्ने थियो वा थिएन भन्ने विषय महत्त्वपूर्ण हुन्छ।

झन् अस्पताल प्रशासनले आईसीयूभित्र व्यावसायिक प्रयोजनका लागि भिडियो खिच्न कुन आधारमा अनुमति दियो, चिकित्सकको स्वीकृति थियो वा थिएन, बिरामी तथा परिवारबाट लिखित सहमति लिइएको थियो वा थिएन र संक्रमण नियन्त्रणसम्बन्धी मापदण्ड पालना गरियो कि गरिएन भन्ने प्रश्न अझै अनुत्तरित छन्।

प्रेस काउन्सिलले सार्वजनिक सामग्री पत्रकार आचारसंहिताको परिधिभित्र रहे–नरहेको विषयमा थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ। काउन्सिलले अध्ययनका क्रममा सम्बन्धित सञ्चारकर्मी, अस्पताल र नेपाल मेडिकल काउन्सिलसँग पत्राचार गरिसकेको जानकारीसमेत दिएको छ।

यसबाट उक्त प्रकरण अब सामाजिक सञ्जालको आलोचनामा मात्र सीमित नरही सञ्चारमाध्यमको आचारसंहिता र अस्पतालको चिकित्सकीय प्रोटोकल दुवै कोणबाट औपचारिक छानबिनको दायरामा प्रवेश गरेको देखिएको छ।

काउन्सिलले सगरमाथा क्षेत्रमा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शकसँग अस्पतालमै बीबीसी नेपालीले लिएको अन्तर्वार्ताबारे पनि जानकारी प्राप्त भएको उल्लेख गरेको छ। दुवै घटनालाई समेटेर काउन्सिलले सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलसँग विवरण मागेको हो।

यो घटनाले विपद्पछिको मानवीय कथालाई सार्वजनिक गर्ने नाममा सञ्चारमाध्यम कति भित्रसम्म पुग्न पाउँछ भन्ने गम्भीर बहस जन्माएको छ। पीडितको कथा समाचारका लागि महत्त्वपूर्ण हुन सक्छ, तर ‘एक्सक्लुसिभ कन्टेन्ट’ प्राप्त गर्ने होडले बिरामीको उपचार, गरिमा, गोपनीयता र जीवनमाथि नै जोखिम सिर्जना गर्न मिल्दैन।

अब प्रश्न युट्युब च्यानलमाथि मात्र होइन, आईसीयूको ढोका खोलिदिने नेपाली सेनाको अस्पताल प्रशासनमाथि पनि सोझिएको छ। काउन्सिलको अध्ययनपछि सञ्चारकर्मीले आचारसंहिता उल्लंघन गरे/नगरेको तथा अस्पतालले प्रचलित चिकित्सकीय प्रोटोकल पालना गरे/नगरेको विषयमा स्पष्ट जवाफ आउनुपर्ने देखिन्छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.