काठमाडौं । नेपाल ल्युब आयल लिमिटेड, ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम कारोबार दिन रहेको छ।
तीनवटै कम्पनीले असोज ५ गते सेयरधनी दर्ता पुस्तिका बन्द अर्थात् ‘बुक क्लोज’ गर्ने निर्णय गरेका छन्। त्यसैले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर खरिद गरी कायम हुने लगानीकर्ताले सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन पाउनेछन्।
नेपाल ल्युब आयलको २१.०५ प्रतिशत लाभांश
नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल २१.०५२६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको भदौ २७ गते बसेको ३९१औँ बैठकले हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। नगद लाभांशमा करसमेत समावेश छ।
कम्पनीको हालको चुक्तापूँजी ७ करोड २९ लाख रुपैयाँ छ।
प्रस्तावित लाभांश अनुमोदनका लागि कम्पनीले असोज १९ गते ३५औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा ललितपुरको पुल्चोकस्थित द प्लाजामा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्नेछ। आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
ग्लोबल आइएमई बैंकले १० प्रतिशत दिँदै
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको भदौ १७ गते बसेको ४७३औँ बैठकले हाल कायम चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकको चुक्तापूँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ।
लाभांश अनुमोदनका लागि बैंकले असोज १६ गते काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा २०औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान ९ बजेदेखि सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणसहितका वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्नेछ। स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा छ।
आईसीएफसी फाइनान्सको १०.५२ प्रतिशत नगद लाभांश
आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०८२/८३ का लागि १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको भदौ १६ गते बसेको ३७२औँ बैठकले हाल कायम १ अर्ब १८ करोड रुपैयाँ चुक्तापूँजीका आधारमा करसहित १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ ६६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश पारित गर्न फाइनान्सले असोज १३ गते काठमाडौंको बौद्धस्थित बौद्ध हेरिटेजमा २३औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान १० बजेदेखि सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वित्तीय अवस्था तथा नगद प्रवाह विवरण पारित गरिनेछ। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभामा पेस हुनेछ।
तीनवटै कम्पनीको प्रस्तावित लाभांश सम्बन्धित वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।