काठमाण्डौ । सडक विभागले शनिबार बेलुका ८ बजे सार्वजनिक गरेको विवरणअनुसार पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र एकतर्फी रूपमा फसेका सवारीसाधनका कारण रातिको सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
विभागका अनुसार कृष्णभीर, चोकीभीर, जवाङ खोला, फिस्लिङ, घोप्टे र चारकिलो आसपासका स्थान प्रभावित छन्। फसेका सवारीसाधन तथा एम्बुलेन्स हटाउने काम भइरहेको र जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी चल्न नदिइने विभागले जनाएको छ।
पूर्व–पश्चिम राजमार्गको भालुबाङ डाँडा तथा धानखोला नजिक पनि सडक अवरुद्ध छ। त्यहाँ पहिरो पन्छाउन मेसिन परिचालन गरिएको छ। बीपी राजमार्गका माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेसी, कटुन्जे र चोकीडाँडीलगायत स्थानमा अवरोध देखिएको छ। विभागले पहिरो र डाइभर्सनमा मर्मत भइरहेको जनाएको छ।
तमोर करिडोरको छरुवा खोला, मावा खोला र रामभिरमा खोलाको बहाव उच्च रहेकाले यातायात सञ्चालन हुन सकेको छैन। राप्ती राजमार्गको कपुरकोट–खारखोला खण्ड पनि अवरुद्ध छ। कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो र ढुंगा हटाउने काम भइरहेको विभागको विवरणमा उल्लेख छ।
कान्ति राजमार्गको चपली र कटुन्जे क्षेत्रमा अवरुद्ध खण्डमध्ये केहीमा पहिरो पन्छाएर आवागमन सञ्चालनमा ल्याइएको छ। मध्यपहाडी राजमार्गका घोडाबाँधे–हटिया, काफलबुट्टा, झाँक्रीस्थान र चौराहा आसपासका खण्डमा पहिरो तथा रूख हटाउने काम जारी छ।
कोशी राजमार्गको जेफाले क्षेत्रमा सवारीसाधन एकतर्फी रूपमा चलिरहेको छ। भालुबाङ–चन्द्रौटे–लिबाङ सडकमा आंशिक अवरोध रहेको विभागले जनाएको छ। त्यस्तै, बेसीसहर–चामे सडकको मनाङस्थित नासो गाउँपालिका क्षेत्रमा सडक बन्द छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।