काठमाण्डौ । भाटभटेनी सुपरमार्केटले काठमाण्डौको टंगालस्थित स्टोरमा २४ घण्टा ग्रोसरी सेवा सञ्चालन गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ।
कम्पनीले मंसिर १ गतेदेखि टंगाल स्टोरको ग्रोसरी सेवा चौबीसै घण्टा सञ्चालन गर्ने तयारी गरेको थियो। तर प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि उक्त योजना स्थगित गरिएको जनाएको छ।
भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले ग्राहकलाई थप सहज र गुणस्तरीय सेवा दिने उद्देश्यले २४ घण्टे सेवा सुरु गर्ने तयारी गरिएको भए पनि तत्काल कार्यान्वयन गर्न नसकिएको बताए।
‘ग्राहकहरूलाई अझ सहज, सुविधाजनक र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले टंगाल स्टोरको ग्रोसरी सेवा २४ घण्टा सञ्चालन गर्ने तयारी गरिएको थियो। तर केही प्राविधिक कारणले तत्कालका लागि उक्त योजना स्थगित गर्नुपरेको छ,’ उनले भने।
पौडेलले आवश्यक तयारी पूरा गरेर छिट्टै २४ घण्टे सेवा सञ्चालनको नयाँ मिति सार्वजनिक गरिने जानकारी दिए।
यद्यपि कम्पनीले सेवा सञ्चालनमा अवरोध पुर्याउने प्राविधिक समस्याको प्रकृति र नयाँ सेवा सुरु हुने निश्चित मितिबारे भने खुलाएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।