काठमाण्डौ । रूस–युक्रेन युद्धका क्रममा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरिया पठाइएको विषय सार्वजनिक गरेपछि दक्षिण कोरिया र युक्रेनबीच कूटनीतिक विवाद चर्किएको छ ।
दक्षिण कोरियाले सैनिकहरूको स्थानान्तरणबारे गोपनीयता कायम गर्ने सहमति उल्लंघन गरेको आरोप लगाउँदै युक्रेनसँग औपचारिक स्पष्टीकरण र माफी मागेको छ । युक्रेनले भने यस्तो कुनै गोपनीयता सम्झौता नभएको दाबी गरेको छ ।
विवादको सुरुवात युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता संयुक्त राष्ट्रसंघको महासभामा दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरिया पठाइएको सार्वजनिक गरेपछि भएको हो । ती सैनिक सन् २०२५ मा रूसको कुर्स्क क्षेत्रमा पक्राउ परेका थिए ।
दक्षिण कोरियाका वरिष्ठ राष्ट्रपतीय सचिव सुङ की–हङले युक्रेनले यो विषय एकपक्षीय रूपमा सार्वजनिक गरेको भन्दै ‘गम्भीर असन्तुष्टि’ व्यक्त गरेका छन् । उनका अनुसार स्थानान्तरणबारे विभिन्न चरणमा छलफल हुँदा युक्रेनले नै गोपनीयता कायम राख्न आग्रह गरेको थियो र दक्षिण कोरियाले सुरक्षा, कूटनीतिक तथा मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै त्यसमा सहमति जनाएको थियो ।
दक्षिण कोरियाले सोमबार सियोलस्थित युक्रेनी राजदूतलाई बोलाएर समेत विरोध जनाएको छ । सियोलको आरोपमा सैनिकहरूको स्थानान्तरण सार्वजनिक गर्नु मात्र नभई त्यसपछि गोपनीयता सम्झौता नै नभएको भन्नु दुई देशबीचको विश्वासमा क्षति पुर्याउने कदम हो ।
युक्रेनी पक्षले भने आरोप अस्वीकार गरेको छ । राष्ट्रपति जेलेन्स्कीका सञ्चार सल्लाहकार दिमित्रो लिट्भिनले सैनिकहरूलाई दक्षिण कोरिया पठाइएको विषय गोप्य राख्ने कुनै औपचारिक सहमति नभएको बताएका छन् ।
दुई सैनिकको भविष्यबारे युक्रेन र दक्षिण कोरियाबीच महिनौँदेखि परामर्श हुँदै आएको थियो । दक्षिण कोरियाको विदेश मन्त्रालयले यसअघि उनीहरूको इच्छालाई सम्मान गर्दै अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्तअनुसार समाधान खोज्ने विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको जनाएको थियो ।
यो विषय संवेदनशील मानिनुको अर्को कारण उत्तर कोरियामा रहेका सैनिकका परिवारमाथि पर्न सक्ने सम्भावित जोखिम पनि हो । दक्षिण कोरियाली अधिकारीहरूले सैनिक तथा उनीहरूका परिवारको सुरक्षा नै विवरण सार्वजनिक नगर्नुको एउटा प्रमुख कारण रहेको बताएका छन् ।
रूस–युक्रेन युद्धमा उत्तर कोरियाले रूसलाई सैनिक तथा हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ । दुई पक्राउ परेका सैनिक पनि रूसको पक्षबाट युद्धमा सहभागी हुँदा युक्रेनी सेनाको नियन्त्रणमा परेका थिए ।
यस घटनाले रूस–युक्रेन युद्ध, उत्तर कोरियाको सैन्य सहभागिता र दक्षिण कोरियाको सुरक्षा संवेदनशीलतालाई जोडेर युक्रेन–दक्षिण कोरिया सम्बन्धमा नयाँ कूटनीतिक तनाव सिर्जना गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।