काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।
सन्दीप लामिछानेको कप्तानीमा घोषणा गरिएको टोलीमा अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ। हालै एसीसी प्रिमियर कप जितेको टोलीबाट भने दुई खेलाडी परिवर्तन भएका छन्।
हेमन्त धामी टोलीबाट बाहिरिएका छन् भने चोटका कारण प्रिमियर कप गुमाएका नन्दन यादवले पुनरागमन गरेका छन्। यस्तै, स्पिनर साहब आलमलाई पनि टोलीमा समावेश गरिएको छ।
यसपटक कुशल भुर्तेलले पनि टोलीमा स्थान बनाउन सकेनन्। अनुभवी खेलाडी सोमपाल कामी, आरिफ शेख र भीम सार्की पनि टोलीबाहिर छन्।
लिग–२ अन्तर्गत नेपालको आगामी शृङ्खला ७ अक्टोबरदेखि ओमानमा सुरु हुनेछ। त्रिकोणात्मक शृङ्खलामा नेपालसँगै आयोजक ओमान र क्यानडा सहभागी हुनेछन्।
टोलीमा पूर्वकप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र करण केसीजस्ता अनुभवी खेलाडी छन्। अर्जुन कुमाल, नन्दन यादव र शेर मल्ललगायतका खेलाडीलाई पनि टोलीमा समेटिएको छ।
नेपाली टोली
सन्दीप लामिछाने — कप्तान
आसिफ शेख
दीपेन्द्रसिंह ऐरी
देव खनाल
ईशान पाण्डे
रोहित पौडेल
अर्जुन कुमाल
सन्दीप जोर
गुलशन झा
बसिर अहमद
करण केसी
नन्दन यादव
ललित राजवंशी
साहब आलम
शेर मल्ल


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।