काठमाण्डौ । राष्ट्रिय सभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको विधेयकमाथि विस्तृत छलफलपछि पारित गरिएको हो।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रतिनिधिसभाबाट गरिएका संशोधन स्वीकार गर्दै विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।
लामो समयदेखि संसदीय प्रक्रियामा रहेको विधेयक राष्ट्रिय सभाबाट समेत पारित भएसँगै यसको कानुनी प्रक्रियामा महत्वपूर्ण प्रगति भएको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच विधेयकका विषयमा एकरूपता कायम भएको छ।
विधेयक कार्यान्वयनमा आएपछि नेपालमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि आवश्यक कानुनी आधार तयार हुनेछ। यसबाट अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको प्रयोग र पहुँचलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्री पुनले विधेयकको महत्वबारे सदनलाई जानकारी गराउँदै यसको कार्यान्वयनले वैज्ञानिक अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन्।
विधि विज्ञान प्रयोगशालामार्फत अपराध अनुसन्धानमा आवश्यक वैज्ञानिक परीक्षण तथा प्रमाण विश्लेषणलाई संस्थागत गर्ने बाटोसमेत यस विधेयकले खोल्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।