काठमाडौं। इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने तेलवाहक पानीजहाजमाथिको आक्रमण तीव्र पारेपछि फारसको खाडीबाट कच्चा तेल निर्यातमा देखिएको नाजुक सुधार जोखिममा परेको छ।
अमेरिका नेतृत्वको गठबन्धनमा आबद्ध सेनाहरूले व्यापारिक पानीजहाजलाई सुरक्षा सूचना उपलब्ध गराउने संस्था जोइन्ट मेरिटाइम इन्फर्मेसन सेन्टरका अनुसार पछिल्लो एक महिनामा होर्मुज जलडमरूमध्य, फारसको खाडी वा ओमानको तटीय क्षेत्रमा यात्रा गरिरहेका करिब २० वटा व्यावसायिक पानीजहाज आक्रमणमा परेका छन्।
जहाजहरूको आवागमन निगरानी गर्ने कम्पनी विन्डवार्डकी वरिष्ठ सामुद्रिक गुप्तचर विश्लेषक मिशेल वाइज बकम्यानका अनुसार तेस्रो त्रैमासिकमा होर्मुज जलडमरूमध्य पार गरेका प्रत्येक १०० वटा पानीजहाजमध्ये करिब दुईवटामाथि इरानले आक्रमण गरेको थियो।
अहिले होर्मुज हुँदै हुने तेलको आवागमन मुख्यतः अमेरिकी सेनाको ठूलो उपस्थितिमा निर्भर छ। अमेरिकी सेनाले ओमानको तटीय क्षेत्रसँगै दक्षिणी मार्गबाट आवतजावत गर्ने तेलवाहक पानीजहाजलाई सुरक्षा प्रदान गरिरहेको छ।
होर्मुजको सुरक्षा अवस्था अझै जोखिमपूर्ण रहेकाले तेहरानसँग कुनै सहमति नभएसम्म वा इरानले आत्मसमर्पण नगरेसम्म कच्चा तेल निर्यातमा देखिएको यो सुधार कति समय टिक्छ भन्ने स्पष्ट छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।