काठमाडौं । एप्पलको पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन ‘आइफोन डुओ’ गत शुक्रबार बजारमा उपलब्ध भएको थियो। फोन सार्वजनिक भएसँगै खरिदका लागि पसलमा लामो लाइन लागेको थियो भने पूर्वआदेश गरेका ग्राहकले पनि लामो समय प्रतीक्षा गर्नुपरेको थियो।
तर, पहिलो सप्ताहन्तमै १ हजार ९९९ अमेरिकी डलर वा सोभन्दा बढी मूल्यको उक्त फोन खरिद गर्न सफल केही ग्राहकले गम्भीर समस्या देखिएको बताएका छन्। फोनको भित्री स्क्रिनमा खराबी देखिँदै कब्जा (हिन्ज) भएको भागबाट तेर्सा र चम्किला रेखा निस्किएको उनीहरूको भनाइ छ।
एप्पलले उक्त समस्याबारे आफू जानकार रहेको जनाएको छ। कम्पनीका अनुसार थोरै सङ्ख्याका आइफोन डुओमा यस्तो समस्या देखिएको छ। समस्या भएका फोनलाई एप्पलकेयर वारेन्टीअन्तर्गत प्रतिस्थापन गरिने कम्पनीले स्पष्ट पारेको छ।
‘आइफोन डुओका थोरै सङ्ख्याका उपकरणको भित्री डिस्प्लेमा समस्या देखिएको हामीलाई जानकारी छ। प्रयोगकर्ताले आफ्नो फोनको डिस्प्लेमा समस्या अनुभव गरेमा प्रतिस्थापनका लागि एप्पलकेयरमा सम्पर्क गर्नुपर्छ,’ एप्पलका एक प्रतिनिधिले बताए।
एप्पलको वेबसाइटअनुसार वारेन्टी अवधि सकिएका आइफोन डुओको भित्री स्क्रिन मर्मत गर्न ९९९ अमेरिकी डलर खर्च लाग्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।