काठमाण्डौ । अविरल वर्षा, बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि मुस्ताङको लेतेदेखि कोरला नाकासम्म पाँच सयभन्दा बढी कन्टेनर तथा विद्युतीय सवारीसाधन बाटोमै रोकिएका छन्।
असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा चीनबाट आयात गरिएका मालवस्तु बोकेका सवारी एक सातादेखि मुस्ताङका विभिन्न स्थानमा थन्किएका हुन्।
विशेषगरी म्याग्दीको पोखरेबगर, कुनौटे, बैसरीलगायत क्षेत्रमा सडक क्षतिग्रस्त भएपछि बेनी–जोमसोम खण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। सडक मर्मत जारी रहेको र पूर्ण रूपमा खुलाउन अझै करिब एक साता लाग्न सक्ने प्राविधिकहरूले जनाएका छन्।
सडक अवरुद्ध हुँदा जोमसोम बसपार्कमै ७० भन्दा बढी कन्टेनर र एक सयभन्दा बढी विद्युतीय सवारीसाधन रोकिएका छन्।
उता, जोमसोम–कोरला सडकखण्ड भने मर्मतपछि आंशिक रूपमा सञ्चालनमा आएको छ। कालीगण्डकी करिडोर सडक आयोजनाले अवरुद्ध सडक खुलाएपछि कोरला नाकामा रोकिएका केही मालवाहक कन्टेनर जोमसोमसम्म ल्याइएको छ।
भन्सार जाँचपासमै अड्किए सयौं सवारी
बाढी र पहिरोपछि विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा उपल्लो मुस्ताङ भन्सार कार्यालयको सेवा पनि प्रभावित भएको थियो।
म्याग्दी खण्डका विभिन्न स्थानमा विद्युत् पोल क्षतिग्रस्त भएपछि मुस्ताङमा एक सातासम्म ३३ केभी प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध हुँदा भन्सार जाँचपास नियमित रूपमा हुन सकेको थिएन।
कोरला नाकामा रोकिएका चालकका अनुसार अहिले पनि करिब ३०० मालवाहक कन्टेनर र २०० भन्दा बढी विद्युतीय सवारीसाधन भन्सार जाँचपास र सडक सञ्चालनको प्रतीक्षामा छन्।
यसले चीनबाट दसैं–तिहार लक्षित गरी आयात गरिएका सामान समयमै बजारमा पुर्याउन समस्या भएको छ।
व्यापारीदेखि उपभोक्तासम्म असर
दसैं–तिहारका लागि आयात गरिएका लत्ताकपडा, विद्युतीय सामग्री, सवारीसाधन तथा अन्य उपभोग्य वस्तु बाटोमै रोकिँदा व्यापारीको लागत बढेको छ भने बजारमा आपूर्ति प्रभावित भएको छ।
समयमै सामान नपुग्दा उपभोक्ताले पनि चाडपर्व लक्षित वस्तु खरिद गर्न नपाउने अवस्था बनेको छ।
सडक अवरोध, भन्सार जाँचपासमा ढिलाइ र ढुवानी अवरुद्ध हुँदा चाडपर्वको मुख्य व्यापारिक सिजनमै बजारको चलायमानता कमजोर बनेको व्यवसायीहरूको गुनासो छ।
अब बेनी–जोमसोम सडक कहिले पूर्ण रूपमा खुल्छ र रोकिएका पाँच सयभन्दा बढी कन्टेनर तथा सवारी गन्तव्यसम्म कहिले पुग्छन् भन्ने विषय व्यापारी र आयातकर्ताका लागि मुख्य चासो बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।