काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वका बेला सरकारले निर्धारण गरेकोभन्दा बढी सवारी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले बढी भाडा लिने सवारीसाधनमाथि कारबाही गरिने बताए।
सरकारले दसैँका लागि असोज २३ गतेदेखि देशभर अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यात्रुको सहज र सुरक्षित आवागमनका लागि यातायात व्यवस्था विभाग, महासंघ, मजदुर संघ–संघठन तथा सुरक्षा निकायबीच समन्वय गरिएको छ।
महासंघले टिकट काउन्टरका कर्मचारीलाई तोकिएको पोसाक र परिचयपत्र अनिवार्य गर्न तथा यात्रुसँग नम्र व्यवहार गरी सहज रूपमा टिकट उपलब्ध गराउन निर्देशन दिएको छ।
घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। खाद्य सामग्री, औषधि, फलफूल तथा अत्यावश्यक सामग्री बोकेका सवारीसाधनमा भने रोक लाग्ने छैन। यात्रुवाहक सवारीका लागि घटस्थापनादेखि कात्तिक १० गतेसम्म लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ।
यसैगरी, गोङ्गबु बसपार्कमै यात्रुवाहक सवारीको निःशुल्क फिटनेस परीक्षणको व्यवस्था गरिने तथा उपत्यकाका प्रमुख नाकामा यात्रु सहायता कक्षको अनुगमन र सहजीकरणका लागि टोली परिचालन गरिने महासंघले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।