काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने बताएका छन्। उनले आफूले आठवटा युद्ध अन्त्य गराएको र विश्वलाई पूर्ण रूपमा विनाश हुनबाट समेत जोगाएको दाबी गरेका छन्।
ट्रम्पले भने, “कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गराएका छैनन्। मैले आठवटा युद्ध अन्त्य गराएको छु र सम्भवतः विश्वलाई पूर्ण रूपमा तहसनहस हुनबाट पनि रोकेको छु। त्यसैले मलाई नोबेल शान्ति पुरस्कार मिल्नुपर्छ।”
सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा नर्वेजियन नोबेल समितिले शुक्रबार गर्नेछ। पुरस्कारबारे सोधिएको प्रश्नमा ट्रम्पले समितिले आफूलाई पुरस्कार दिने वा नदिनेबारे आफूलाई थाहा नभएको बताए। उनले समितिको विगतको छविलाई उल्लेख गर्दै आफूजस्ता व्यक्तिलाई पुरस्कार नदिने सम्भावना रहेको पनि बताए।
सत्तामा पुनः फर्किएदेखि ट्रम्पले आफू विश्वकै प्रतिष्ठित पुरस्कारमध्ये एक मानिने नोबेल शान्ति पुरस्कारका लागि योग्य रहेको बताउँदै आएका छन्। उनले यसपटक आफूलाई पुरस्कार दिने समय आएको हुन सक्ने बताएका छन्।
ट्रम्पले गत जनवरीमा सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कारको पदक आफूलाई दिएको प्रसंगसमेत उल्लेख गरे। ट्रम्पले मचाडोमार्फत अप्रत्यक्ष रूपमा सम्मान प्राप्त गरेकोमा आफू सम्मानित महसुस गरेको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।