काठमाण्डौ । निर्वाचन आयोग आगामी स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा जुटेको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनको मिति सरकारले तोक्ने भए पनि आयोग आवश्यक तयारीमा रहेको बताएका छन्।
राष्ट्रिय समाचार समितिको प्रतिनिधिमण्डलसँग बिहीबार आयोगमा भएको अनौपचारिक कुराकानीमा कार्कीले तोकिएको मितिमा निष्पक्ष, स्वच्छ र विवादरहित निर्वाचन सम्पन्न गर्नु आयोगको दायित्व भएको बताए।
उनले स्थानीय तह लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्थामा राख्न नहुनेमा आयोग स्पष्ट रहेको पनि उल्लेख गरे।
स्थानीय तह निर्वाचन फागुनमै गर्ने गरी सरकार अघि बढेको भन्ने चर्चाबारे कार्कीले निर्वाचन मितिबारे अहिले नै आयोगले निष्कर्ष दिन नमिल्ने बताए। संवैधानिक प्रावधानअनुसार आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने उनको भनाइ छ।
आगामी वैशाख आसपास स्थानीय तहको कार्यकाल सकिने भएकाले त्यसलाई ध्यानमा राखेर संवैधानिक व्यवस्थाअनुसार निर्वाचन हुने उनले बताए।
स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने तयारी भइरहेको हो भन्ने प्रश्नमा भने प्रमुख आयुक्त कार्कीले अहिले नै दुवै निर्वाचन सँगै हुन्छ भन्न सकिने अवस्था नरहेको स्पष्ट पारे।
उनका अनुसार निर्वाचनको स्वरूप, समय र व्यवस्थापन संविधान, कानुन र सरकारले घोषणा गर्ने मितिअनुसार तय हुनेछ। आयोगले सोहीअनुसार आवश्यक तयारी अघि बढाउनेछ।
निर्वाचन आयोगले संविधान र कानुनअन्तर्गत स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभालगायत निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने जिम्मेवारी पाएको छ।
छलफलका क्रममा निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिबीचको सहकार्य तथा समसामयिक विषयमा पनि कुराकानी भएको थियो। भेटमा निर्वाचन आयुक्त सगुनशमशेर जबरा र ध्रुवराज वाग्लेसहित राससका पदाधिकारी सहभागी थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।