काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक पुनरुत्थान, औद्योगिक विस्तार र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यसँग बिहीबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले निजी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण साझेदारका रुपमा उल्लेख गर्दै लगानी, उत्पादन, रोजगारी र उद्यमशीलता विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले पछिल्लो समय नेपालले सामना गरेको प्राकृतिक विपद्ले जनजीवनसँगै पूर्वाधार तथा आर्थिक गतिविधिमा समेत असर पारेको बताए। विशेषगरी भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले उद्धार, पुनर्निर्माण र पुनःस्थापनामा महासंघले देखाएको सक्रियता र सहयोगको प्रशंसा गरे।
‘सरकार र निजी क्षेत्रबीचको विश्वास र सहकार्यले मात्रै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपालको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्छ।’
उनले जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा रहेका सम्भावनालाई परिणाममुखी ढंगले उपयोग गर्नुपर्ने बताए।
समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले राज्य, निजी क्षेत्र र समग्र समाजबीच साझा राष्ट्रिय संकल्प आवश्यक रहेको बताए।
‘लगानीकर्ताको आत्मविश्वास अझै पूर्ण रुपमा फर्किएको छैन’
भेटमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै लगानी अपेक्षाअनुसार बढ्न नसकेको, बजारमा माग कमजोर रहेको र व्यवसायी तथा लगानीकर्ताको आत्मविश्वास पूर्ण रुपमा फर्किन नसकेको बताए।
उनले पछिल्ला प्राकृतिक विपद्ले अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको उल्लेख गरे।
भोटेकोशी क्षेत्रमा आएको बाढीले सडक, पुल, जलविद्युत्, पर्यटन, व्यापार–व्यवसाय तथा नेपाल–चीनबीचको आवागमन र आपूर्ति प्रणालीमा समेत असर पारेको श्रेष्ठले बताए।
विपद्बाट प्रभावित पूर्वाधार तथा निजी क्षेत्रका परियोजनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि ठूलो स्रोत आवश्यक पर्ने र सरकार एक्लैले त्यसको भार थेग्न कठिन हुने उनको भनाइ छ।
निजी क्षेत्रलाई ‘व्यवसायी’ मात्र होइन, विकास साझेदारको रुपमा हेरिनुपर्ने
अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै ठूलो संख्यामा रोजगारीसमेत सिर्जना गरिरहेको उल्लेख गरे।
उनले निजी क्षेत्रलाई केवल व्यवसाय गर्ने क्षेत्रका रुपमा नभई मुलुक निर्माणको महत्वपूर्ण साझेदारका रुपमा हेर्नुपर्ने बताए।
लगानी, उत्पादन र रोजगारी विस्तारका लागि स्थिर तथा पूर्वानुमानयोग्य नीति, स्पष्ट कानुनी व्यवस्था, गुणस्तरीय पूर्वाधार, प्रभावकारी सरकारी सेवा र लगानीमैत्री वातावरण आवश्यक रहेको उनको भनाइ छ।
‘सरकार र निजी क्षेत्रबीचको संवादलाई अझ संस्थागत र परिणाममुखी बनाउन जरुरी छ,’ श्रेष्ठले भने, ‘व्यवसायीले व्यवहारमा भोगिरहेका समस्या नीतिगत रुपमा सम्बोधन गर्न सके मात्रै त्यसको सकारात्मक प्रभाव लगानी, उत्पादन र रोजगारीमा देखिन्छ।’
उनले लगानी प्रवर्द्धन तथा समग्र आर्थिक विकासका लागि विद्यमान ऐन–कानुनमा आवश्यक सुधार गर्न महासंघले सरकारसमक्ष निरन्तर सुझाव प्रस्तुत गर्दै आएको पनि जानकारी दिए।
अध्यक्ष श्रेष्ठले निजी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण साझेदारका रुपमा हेरिएकोप्रति राष्ट्रपति पौडेललाई धन्यवाद दिँदै सरकारसँगको संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।