काठमाण्डौ । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न साधारणसभाले पाँच प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि आठ प्रतिशत लाभांशसमेत पारित गरेको बैंकले जनाएको छ।
बोनस शेयर वितरणपछि नबिल बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा माथि पुग्नेछ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकले ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
बैंकका अनुसार समीक्षा अवधिमा निक्षेप १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ६९ अर्ब ६७ करोड रुपैयाँले बढेको हो।
त्यस्तै, कर्जा तथा सापटी १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रुपैयाँले वृद्धि भएको बैंकले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकको वासलातको आकार १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले संस्थागत सुशासन, ग्राहक सन्तुष्टि, सेवा आधुनिकीकरण र विस्तारलाई बैंकले प्राथमिकतामा राखेको बताए।
सभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ।
नबिल बैंकले हाल देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ। बैंकका अनुसार ग्राहक संख्या २८ लाखभन्दा बढी पुगेको छ।
बैंकले डिजिटल बैंकिङ विस्तारका लागि ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ भने सन् २०३० सम्म ‘एआई रेडी बैंक’ बन्ने लक्ष्य लिएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।