काठमाण्डौ । नेपाल–चीन उत्तरी कोरलानाका हुँदै पछिल्लो ११ दिनमा ५४३ टन चिनियाँ फलफूल नेपाल भित्रिएको छ।
लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातका बीच पनि कोरलानाकाबाट ठूलो परिमाणमा फलफूल आयात भएको हो।
क्वारेन्टाइन कार्यालयकी प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार पछिल्लो ११ दिनमा स्याउ ८७.३०० टन, आँप १६.१०० टन र ड्रागन फ्रुट ८.३१६ टनसहित विभिन्न फलफूल नेपाल भित्रिएका छन्।
तर असोज ११ गतेदेखि बेनी–जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुँदा आयात भएका फलफूल गन्तव्यसम्म पुर्याउन समस्या भएको छ। सडक अवरुद्ध भएपछि कोरलानाकाबाट नेपाल भित्रिएका फलफूल बोकेका कन्टेनर लामो समयसम्म रोकिएका छन्।
कन्टेनरभित्र लामो समय फलफूल राख्नुपर्दा सड्ने तथा बिग्रने जोखिम बढेको व्यवसायीहरूले बताएका छन्।
यसैबीच, समयमै गन्तव्यमा पुर्याउन नसकिएपछि बिहीबार मुस्ताङको जोमसोममा एक कन्टेनर ड्रागन फ्रुट स्थानीयलाई निःशुल्क वितरण गरिएको छ।
कम्पनीका प्रतिनिधि सुवास सुनुवारका अनुसार कन्टेनरमा करिब आठ टन चिनियाँ ड्रागन फ्रुट थियो। करिब २४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको फलफूल कुहिनुभन्दा स्थानीयलाई वितरण गरिएको उनले बताए।
ड्रागन फ्रुटको मूल्य, कन्टेनर भाडा र भन्सार राजस्वसमेत जोड्दा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।