काठमाण्डौ । हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रोक्स प्रालिले नेपाली बजारमा १६ सिट क्षमताको प्रिमियम इलेक्ट्रिक मिनिबस ‘म्याक्सस ई–डेलिभर ५’ सार्वजनिक गरेको छ।
कम्पनीले आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ विद्युतीय मिनिबस सार्वजनिक गरेको हो। यसको नेपाली बजार मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ।
विशेषगरी होटल, रिसोर्ट, पर्यटन तथा आतिथ्य क्षेत्र र व्यावसायिक यात्रुवाहक सेवाका लागि लक्षित गरी उक्त गाडी बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, निर्देशक आकाश गोल्छा र प्रबन्ध निर्देशक सौरभ थापाले संयुक्त रूपमा नयाँ मिनिबस सार्वजनिक गरेका हुन्। कार्यक्रममा अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीसहित सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको उपस्थिति थियो।
कम्पनीका अनुसार म्याक्सस ई–डेलिभर ५ मा ६४ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ। एनईडीसी परीक्षण मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ४०० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीको दाबी छ।
यसमा १२० किलोवाट अधिकतम पावर र २४० एनएम टर्क उत्पादन गर्ने विद्युतीय मोटर रहेको छ। गाडीले ७० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। निर्धारित परीक्षण अवस्थाअनुसार ब्याट्री २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन करिब ३६ मिनेट लाग्ने कम्पनीले जनाएको छ।
प्रिमियम सुविधासहित ल्याइएको मिनिबसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ। यसमा ब्लुटुथ, यूएसबी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा समावेश गरिएको छ।
त्यस्तै, चार दिशामा समायोजन गर्न मिल्ने स्टेयरिङ ह्विल, आधुनिक ककपिट तथा स्टेयरिङमै जडान गरिएका विभिन्न कन्ट्रोल बटनले चालकलाई थप सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ।
सुरक्षाका दृष्टिले पनि गाडीमा अत्याधुनिक प्रविधि समावेश गरिएको छ। यसमा ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वार्ड कोलिजन वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट र ड्राइभर स्टेट मोनिटरिङजस्ता सुविधा छन्।
यसका अतिरिक्त चालक तथा अगाडिको सिटमा बस्ने यात्रुका लागि एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टमसमेत उपलब्ध गराइएको छ।
गाडीमा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा चारै पाङ्ग्रामा अलोय ह्विल दिइएको छ।
कम्पनीले ब्याट्रीमा ८ वर्ष र मोटरमा ५ वर्षको वारेन्टी उपलब्ध गराउने जनाएको छ।
चीनमा उत्पादन हुने म्याक्सस विश्वप्रसिद्ध एसएआईसी मोटर समूहअन्तर्गतको अटोमोबाइल ब्रान्ड हो। कम्पनीका अनुसार नेपाली बजारमा उपलब्ध अन्य विद्युतीय मिनिबसको तुलनामा ई–डेलिभर ५ मा धेरै प्रिमियम सुविधा समावेश गरिएको छ भने मूल्यसमेत प्रतिस्पर्धी राखिएको छ।
हिमालय मोट्रोक्सले केही समयअघि म्याक्सस ई–टेरोन ९ इलेक्ट्रिक पिकअपसमेत नेपाली बजारमा सार्वजनिक गरेको थियो।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार भइरहेका बेला यात्रुवाहक तथा पर्यटन क्षेत्रमा आधुनिक, सुविधासम्पन्न र वातावरणमैत्री यातायातको विकल्प उपलब्ध गराउने उद्देश्यले नयाँ मिनिबस ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीले बिक्रीपछिको सेवा विस्तारलाई समेत प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।
म्याक्सस ई–डेलिभर ५ सम्बन्धी थप जानकारी तथा खरिदका लागि ग्राहकले काठमाडौंको हात्तीसारस्थित म्याक्सस शोरुममा सम्पर्क गर्न सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।