काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीका अधिकृतहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरीको काम आम नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी प्रभावकारी हुनुपर्ने बताए।
१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई तथा शुभकामना दिँदै उनले प्रहरी सेवामा नैतिकता, निष्ठा, इमानदारी, अनुशासन र जवाफदेहिता सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे।
‘कुनै पनि पेशागत सफलताको पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी हो,’ प्रधानमन्त्री शाहले भने, ‘पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही पालना गर्नु र गराउनु पनि उत्तिकै महत्वपूर्ण छ।’
उनले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा संकटका बेला नागरिकको जिउधनको सुरक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेको भन्दै उक्त जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित प्रभावमा नपर्न आग्रह गरे।
प्रधानमन्त्री शाहले भेदभावरहित ढंगले कर्तव्यमा अडिग भएर काम गर्नुपर्नेमा जोड दिए। उनले प्रहरी संगठनप्रति नागरिकको विश्वास कायम राख्न प्रत्येक प्रहरी कर्मचारीको व्यवहार र कार्यशैली महत्वपूर्ण हुने बताए।
‘आज दीक्षित हुनुभएका प्रहरी निरीक्षक साथीहरू, यहाँहरूको असल कर्मले नै असल भविष्य निर्माण गर्नेछ,’ उनले भने, ‘मलाई विश्वास छ, यहाँहरू कुनै पनि किसिमको दबाब र प्रभावमा पर्नुहुने छैन। आफ्नो संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न हुनुहुने छैन।’
प्रधानमन्त्री शाहले बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्तिसमेत परिवर्तन भइरहेकाले प्रहरी संगठनले सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए।
सूचना प्रविधिको प्रयोगले प्रहरीको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन सक्ने भन्दै उनले अपराध अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी बनाउन आधुनिक प्रविधिको सही सदुपयोग अपरिहार्य रहेको बताए।
यसका लागि प्रहरी नेतृत्व, प्रशिक्षक तथा समग्र संगठनको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो।
सरकार प्रहरी संगठनलाई आधुनिक र सक्षम बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री शाहले स्पष्ट पारे।
‘अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानका लागि सूचना र प्रविधिको सही सदुपयोग गर्न जरुरी छ,’ उनले भने, ‘यस प्रकारको अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन र प्रहरीप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न सरकार सधैं प्रतिबद्ध छ।’
प्रधानमन्त्री शाहले चुनौतीपूर्ण प्रहरी सेवामा आफ्ना छोराछोरीलाई प्रवेश गर्न प्रेरित गर्ने अभिभावक तथा परिवारजनप्रति आभार व्यक्त गर्दै दीक्षित प्रहरी अधिकृतहरूलाई कार्यसफलताको शुभकामना दिए।
उनले दीक्षान्त समारोह आयोजना गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई समेत धन्यवाद दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।