काठमाण्डौ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनको वास्तविक शक्ति कानुनले दिएको अधिकारभन्दा पनि नागरिकको विश्वासमा टिकेको बताएका छन्।
प्रहरी निरीक्षक आधारभूत तालिमको १८४ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरीलाई निष्पक्ष, पारदर्शी, प्रविधिमैत्री र नागरिकप्रति उत्तरदायी संगठनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरीको कार्यशैली पनि बदलिनुपर्ने बताए। साइबर तथा डिजिटल अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा परम्परागत शैलीले मात्र काम नगर्ने उल्लेख गर्दै उनले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को विवेकपूर्ण प्रयोग आवश्यक रहेको बताए।
तर प्रविधिको प्रयोग गर्दा मानवअधिकार, कानुनी प्रक्रिया र व्यावसायिक विवेकलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो।
महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई बाह्य प्रभाव, व्यक्तिगत आग्रह र कुनै पनि प्रकारको अनुचित दबाबबाट मुक्त भएर कानुन कार्यान्वयनमा खटिन निर्देशन दिए।
उनका अनुसार कानुन कार्यान्वयन कानुनी प्रक्रियामा सीमित हुनु मात्र पर्याप्त हुँदैन, त्यसको व्यवहार पनि निष्पक्ष, सम्मानजनक र जबाफदेही हुनुपर्छ।
‘नागरिकले प्रहरीको निर्णयसँग असहमति जनाउन सक्छन्, तर प्रहरीको निष्पक्षतामाथि शंका गर्ने अवस्था आउनुहुँदैन,’ उनले भने।
कार्कीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित घटनामा प्रहरी अझ संवेदनशील बन्नुपर्ने बताए। यस्ता घटनामा पीडितकेन्द्रित दृष्टिकोण अपनाउनुपर्ने उनको भनाइ थियो।
उनले नेपाल प्रहरी संविधान र कानुनप्रति प्रतिबद्ध निष्पक्ष संगठन भएको उल्लेख गर्दै प्रत्येक प्रहरी कर्मचारीले आफ्नो व्यवहारबाट नागरिकको भरोसा जित्नुपर्ने बताए।
‘प्रहरीको शक्ति कानुनले दिएको अधिकारमा मात्र होइन, नागरिकले दिएको विश्वासमा पनि निहित हुन्छ,’ कार्कीले भने।
दीक्षान्त समारोहमा उनले तालिम पूरा गरेर कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी अधिकृतहरूलाई संगठनको छवि नागरिकमैत्री, भरोसायोग्य र व्यावसायिक बनाउने जिम्मेवारी अब उनीहरूको काँधमा पनि रहेको बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।