काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विगतको इतिहास र योगदान मात्रै मूल्याङ्कनको आधार नहुने बताएका छन्। अब जिम्मेवारी पाउने र त्यसमा टिकिरहने आधारमा क्षमता, सक्रियता र व्यवहारिक परिणामसमेत हेरिने उनले बताएका हुन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जिम्मेवारी पाएपछि सक्रिय भएर पार्टी काममा लाग्न निर्देशन दिए। एमालेले यसअघि ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।
ओलीले पार्टीमा विगतको योगदान महत्वपूर्ण भए पनि त्यसलाई मात्र आधार बनाएर मूल्याङ्कन गर्ने अवस्था अब नरहेको बताए।
उनले भने, ‘इतिहासको मात्र कुरा गरेर, त्यसलाई मात्रै मापदण्ड बनाएर अब मूल्याङ्कन हुँदैन। विगतको इतिहास र योगदानसँगै अब क्षमता छ कि छैन, त्यसको पनि मूल्याङ्कन हुन्छ।’
विषयगत ज्ञान वा विज्ञता भए पनि व्यवहारमा सक्रियता नदेखाए त्यसको अर्थ नरहने उनको भनाइ थियो। पार्टीको जिम्मेवारी पाउनु मात्रै उपलब्धि नभई त्यसलाई कसरी पूरा गरिन्छ भन्ने आधारमा नेतृत्वको वास्तविक परीक्षा हुने ओलीले बताए।
लामो समयको परिश्रम, त्याग र पार्टीको विश्वासपछि मात्रै जिम्मेवारी प्राप्त हुने उल्लेख गर्दै उनले अब नवनियुक्त केन्द्रीय सदस्यहरूका लागि काम गरेर देखाउने चरण सुरु भएको बताए।
ओलीले पार्टीभित्र जिम्मेवारीलाई पदका रूपमा मात्र नलिई संगठन विस्तार, कार्यकर्ता परिचालन र पार्टीका कामलाई परिणाममुखी बनाउने दायित्वका रूपमा बुझ्न आग्रह गरे।
उनका अनुसार विगतको योगदानले राजनीतिक पृष्ठभूमि देखाए पनि वर्तमान भूमिकाको मूल्याङ्कन भने सक्रियता, क्षमता र जिम्मेवारी निर्वाहबाट हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।