काठमाडौं । बुढीगण्डकी र स्यार खोलामा आएको बाढीबाट क्षतिग्रस्त विद्युत् प्रणालीको मर्मत तथा पुनःस्थापनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तीव्रता दिएको छ। बाढी प्रभावित धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।
खोर्लाबेंसीदेखि माथि सडक पहुँच नहुँदा र विद्युत् लाइनमा पूर्ण क्षति पुगेकाले त्यहाँसम्म सेवा पुर्याउने प्रयास भइरहेको छ। नेपाल विद्युत् प्राधिकरण आरुघाट वितरण केन्द्रले धार्चेमा पनि पुनःस्थापनाको काम थालेको जनाएको छ। यसअघि भीमसेन थापा गाउँपालिकाका वडा नं. २, ३ र ४ मा करिब १० घण्टामै विद्युत् सेवा सुचारु गरिएको थियो। मन्त्रालयले बाढी प्रभावित सबै क्षेत्रमा यसै साताभित्र विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्य राखेको छ।
बाढीले गोरखा र धादिङका विद्युत् वितरण प्रणाली तथा बुढीगण्डकीसहित टाइम्स इनर्जी (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५९ मेगावाट) र माछा खोला (१६ मेगावाट) जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। धार्चेमा ७० भन्दा बढी उच्च भोल्टेजका पोल तथा सोती, आर्खेत र आरुघाट बजारका वितरण लाइनका पोल क्षतिग्रस्त भएका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजारमा पनि न्यून भोल्टेजका ६ वटा पोलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।