काठमाण्डौ । बीमा कम्पनीहरूले नेपालको सेयर बजारमा लगानी उल्लेख्य रूपमा बढाएका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बीमा कम्पनीहरूले सूचीकृत कम्पनीका सेयरमा कुल ५५ अर्ब १९ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो लगानी ४० अर्ब ८२ करोड ९१ लाख रुपैयाँ थियो। यस हिसाबले एक वर्षमै बीमा कम्पनीहरूले सेयर बजारमा थप १४ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ लगानी गरेका छन्। समग्रमा बीमा कम्पनीहरूको सूचीकृत सेयरमा लगानी ३५.१८ प्रतिशतले बढेको हो।
प्राधिकरणको तथ्यांकले पछिल्लो एक वर्षमा अधिकांश जीवन बीमा कम्पनीहरूले सेयर बजारमा आफ्नो एक्सपोजर आक्रामक रूपमा बढाएको देखाउँछ। केही कम्पनीको लगानी भने घटेको छ।
हिमालयन लाइफको मात्रै १० अर्बभन्दा बढी
सेयर बजारमा सबैभन्दा ठूलो लगानी हिमालयन लाइफ इन्स्योरेन्सको छ। कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म सूचीकृत सेयरमा १० अर्ब १० करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ। यद्यपि यो अघिल्लो वर्षको तुलनामा ६.९६ प्रतिशत कम हो। अघिल्लो वर्ष कम्पनीको यस्तो लगानी १० अर्ब ८५ करोड ९७ लाख रुपैयाँ थियो।
दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको सेयर लगानी ६२.६७ प्रतिशतले बढेर ६ अर्ब ५० करोड ८८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष नेपाल लाइफले ४ अर्ब १ करोड २२ लाख रुपैयाँ लगानी गरेको थियो।
सूर्यज्योति लाइफको लगानी पनि तीव्र रूपमा बढेको छ। कम्पनीको लगानी ७७.१९ प्रतिशत बढेर ५ अर्ब १८ करोड ३९ लाख रुपैयाँ पुगेको छ।
त्यसपछि हिमालयन रिइन्स्योरेन्सको सेयर लगानी ४ अर्ब ३७ करोड ७२ लाख, नेशनल लाइफको ३ अर्ब ४२ करोड २५ लाख र एलआईसी नेपालको ३ अर्ब ३८ करोड २८ लाख रुपैयाँ छ।
आईएमई लाइफको लगानी डेढ गुणाभन्दा बढी बढ्यो
आईएमई लाइफले एक वर्षमा सूचीकृत सेयरमा लगानी १४५.६३ प्रतिशत बढाएको छ। अघिल्लो वर्ष १ अर्ब २२ करोड ३७ लाख रुपैयाँ रहेको लगानी बढेर ३ अर्ब ५८ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै सानिमा रिलायन्स लाइफको लगानी १५७.३४ प्रतिशत बढेर २ अर्ब ५४ करोड ८३ लाख रुपैयाँ पुगेको छ। नेशनल लाइफको लगानी १५५.६१ प्रतिशत बढेर ३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ पुगेको छ।
रिलायबल नेपाल लाइफको लगानी पनि १०२.०१ प्रतिशत बढेर २ अर्ब ९७ करोड २८ लाख रुपैयाँ पुगेको छ भने प्रभु महालक्ष्मी लाइफको लगानी ११४.०९ प्रतिशत बढेर २ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ पुगेको छ।
लघुबीमातर्फ भने ट्रस्ट माइक्रो इन्स्योरेन्सको वृद्धिदर सबैभन्दा उच्च देखिएको छ। कम्पनीको लगानी १८ लाख ६१ हजार रुपैयाँबाट बढेर ४ करोड ३४ लाख ७७ हजार रुपैयाँ पुगेको छ, अर्थात् २ हजार २३६ प्रतिशतभन्दा बढीको वृद्धि हो।
नेपाल रिइन्स्योरेन्सको सूचीकृत सेयरमा लगानी पनि ६२९.७७ प्रतिशत बढेर करिब ६९ करोड १२ लाख रुपैयाँ पुगेको छ।
केही कम्पनीले भने घटाए सेयर लगानी
सबै बीमा कम्पनीले सेयर बजारमा लगानी बढाएका छैनन्। राष्ट्रिय जीवन बीमा कम्पनीको लगानी ६१.२१ प्रतिशत घटेर २१ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ।
हिमालयन लाइफको लगानी ६.९६ प्रतिशत घटेको छ भने सन नेपाल लाइफको ०.८० प्रतिशतले घटेको छ।
त्यस्तै प्रभु इन्स्योरेन्सको लगानी १०.८८ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ११.९१ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ११.७७ प्रतिशत र हिमालयन रिइन्स्योरेन्सको १५.६५ प्रतिशतले घटेको छ।
पुनर्बीमा कम्पनीको सेयर लगानी ५ अर्ब नाघ्यो
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स गरी दुई पुनर्बीमा कम्पनीले सूचीकृत सेयरमा कुल ५ अर्ब ६ करोड ८४ लाख रुपैयाँभन्दा बढी लगानी गरेका छन्।
यसमा हिमालयन रिइन्स्योरेन्सको हिस्सा सबैभन्दा ठूलो छ। कम्पनीले सूचीकृत सेयरमा ४ अर्ब ३७ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ। यद्यपि अघिल्लो आर्थिक वर्षमा ५ अर्ब १८ करोड ९४ लाख रुपैयाँ रहेको यस्तो लगानी गत वर्ष १५.६५ प्रतिशतले घटेको हो।
नेपाल रिइन्स्योरेन्सको हकमा भने ठीक उल्टो अवस्था देखिएको छ। कम्पनीको सूचीकृत सेयरमा लगानी अघिल्लो वर्षको ९ करोड ४७ लाख रुपैयाँबाट बढेर ६९ करोड १२ लाख रुपैयाँ पुगेको छ। यस आधारमा कम्पनीको सेयर बजार लगानी ६२९.७७ प्रतिशतले बढेको छ।

सेयरमा कति लगानी गर्न पाउँछन् बीमा कम्पनी ?
नेपाल बीमा प्राधिकरणले २०८२ भदौमा जारी गरेको ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ ले बीमा कम्पनीले सेयर बजारमा गर्न पाउने लगानीको सीमा निर्धारण गरेको छ। प्राधिकरणले यही निर्देशनमार्फत बीमकहरूको लगानीलाई सुरक्षित र विविधीकरण गर्ने उद्देश्य राखेको हो।
निर्देशनअनुसार बीमा कम्पनीहरूले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनी वा अन्य सूचीकृत संस्थाको संस्थापक वा साधारण सेयरमा आफ्नो कुल लगानीको बढीमा १५ प्रतिशतसम्म लगानी गर्न पाउँछन्। यसअघि यस्तो सीमा १० प्रतिशत थियो।
तर कुनै एउटै कम्पनीमा जति पनि रकम लगानी गर्न भने पाइँदैन। निर्देशनले सेयर लगानी गरिएको कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी स्वामित्व हुने गरी लगानी गर्न रोक लगाएको छ।
यससँगै प्राधिकरणले बीमकलाई प्रत्येक दिन तोकिएको लगानी सीमा कायम गर्न र प्रत्येक त्रैमास समाप्त भएको सात दिनभित्र आफ्नो लगानी विवरण IRMIS प्रणालीमार्फत प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था पनि गरेको छ।
समग्र तथ्यांकले बीमा कम्पनीहरू नेपाली सेयर बजारका ठूला संस्थागत लगानीकर्ताका रूपमा अझ सक्रिय बन्दै गएको देखाउँछ। एकै वर्षमा १४ अर्ब रुपैयाँभन्दा बढी नयाँ रकम सूचीकृत सेयरमा थपिनुले बीमा क्षेत्रको पूँजीबजारप्रतिको एक्सपोजर उल्लेख्य रूपमा बढेको संकेत गर्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।