काठमाण्डौ । नेपालका दुई पुनर्बीमा कम्पनीको कुल लगानी एक वर्षमै करिब ८ अर्ब ४ करोड रुपैयाँले घटेको छ। नेपाल बीमा प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को चौथो त्रैमाससम्मको तथ्यांक तुलना गर्दा पुनर्बीमा कम्पनीहरूको कुल लगानी ४१ अर्ब २ करोड ६५ लाख रुपैयाँबाट घटेर ३२ अर्ब ९८ करोड ५० लाख रुपैयाँमा झरेको देखिन्छ।
यस आधारमा एक वर्षमा पुनर्बीमा कम्पनीहरूको कुल लगानी १९.६० प्रतिशतले घटेको हो। अघिल्लो वर्ष नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको संयुक्त लगानी ४१ अर्ब २ करोड ६५ लाख रुपैयाँ थियो।
नयाँ तथ्यांकअनुसार चालु तुलना अवधिमा नेपाल पुनर्बीमा कम्पनीको कुल लगानी करिब १४ अर्ब ११ करोड रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १८ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।
नेपाल रिको लगानी ६ अर्ब ६१ करोड घट्यो
दुई कम्पनीमध्ये सबैभन्दा ठूलो गिरावट नेपाल पुनर्बीमा कम्पनीको लगानीमा देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनीको कुल लगानी २० अर्ब ७२ करोड ४९ लाख रुपैयाँ थियो।
आर्थिक वर्ष २०८२/८३ मा यस्तो लगानी घटेर करिब १४ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ। अर्थात् एक वर्षमा कम्पनीको लगानी ६ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी घटेको छ। प्रतिशतमा हेर्दा नेपाल रिको कुल लगानी करिब ३१.९१ प्रतिशतले घटेको देखिन्छ।
हिमालयन रिको लगानी पनि ७ प्रतिशत घट्यो
हिमालयन रि इन्स्योरेन्सको लगानी पनि घटेको छ, तर नेपाल रिको तुलनामा गिरावट कम छ। अघिल्लो वर्ष हिमालयन रिको कुल लगानी २० अर्ब ३० करोड १७ लाख रुपैयाँ थियो।
नयाँ तथ्यांकमा यस्तो लगानी करिब १८ अर्ब ८७ करोड ४२ लाख रुपैयाँमा झरेको छ। अर्थात् कम्पनीको लगानी एक वर्षमा करिब १ अर्ब ४२ करोड ७५ लाख रुपैयाँले घटेको छ। यो करिब ७.०३ प्रतिशतको गिरावट हो।
मुद्दती निक्षेपबाट ठूलो रकम बाहिरियो
लगानी घट्नुको प्रमुख कारणमध्ये बैंकको मुद्दती निक्षेपमा गरिएको लगानीमा आएको ठूलो कमी देखिन्छ।
आर्थिक वर्ष २०८१/८२ मा ‘क’ वर्गका बैंकको मुद्दती निक्षेपमा दुई पुनर्बीमा कम्पनीको संयुक्त लगानी २६ अर्ब ९७ करोड ४४ लाख रुपैयाँ थियो।
२०८२/८३ मा यस्तो लगानी घटेर करिब १९ अर्ब ६४ करोड ३२ लाख रुपैयाँमा झरेको छ। अर्थात् यो क्षेत्रमा मात्रै करिब ७ अर्ब ३३ करोड रुपैयाँ लगानी घटेको छ। प्रतिशतमा यो करिब २७.१८ प्रतिशतको गिरावट हो।
‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा अघिल्लो वर्ष १ अर्ब ८६ करोड रुपैयाँ लगानी थियो। नयाँ अवधिमा यो घटेर ४४ करोड रुपैयाँमा सीमित भएको छ। अर्थात् करिब ७६ प्रतिशतले गिरावट आएको छ।
‘ग’ वर्गका संस्थाको मुद्दती निक्षेपमा पनि लगानी ४० करोड रुपैयाँबाट घटेर २५ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको तथ्यांकमा यो रकम ४० करोड रुपैयाँ थियो।
सूचीकृत सेयरमा लगानी पनि घट्यो
पुनर्बीमा कम्पनीहरूको सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा गरिएको संयुक्त लगानी पनि सामान्य घटेको छ।
२०८१/८२ मा यस्तो लगानी ५ अर्ब २८ करोड ४१ लाख रुपैयाँ थियो। नयाँ तथ्यांकअनुसार यो घटेर करिब ५ अर्ब ६ करोड ८५ लाख रुपैयाँमा आएको छ।
यस हिसाबले सूचीकृत सेयरमा गरिएको लगानी करिब २१ करोड ५६ लाख रुपैयाँ, अर्थात् ४.०८ प्रतिशतले घटेको छ।
यद्यपि कम्पनीगत रुपमा अवस्था फरक छ। नेपाल पुनर्बीमा कम्पनीले सूचीकृत सेयरमा लगानी उल्लेख्य रूपमा बढाएको छ भने हिमालयन रिको लगानी घटेको देखिन्छ।
नागरिक लगानी कोष र म्युचुअल फन्डमा भने दोब्बरभन्दा बढी
कुल लगानी घटे पनि केही क्षेत्रमा पुनर्बीमा कम्पनीहरूले लगानी बढाएका छन्।
नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा अघिल्लो वर्ष दुई कम्पनीको संयुक्त लगानी ७२ करोड ९ लाख रुपैयाँ थियो।
गत आवको तथ्यांकअनुसार यस्तो लगानी बढेर करिब १ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ पुगेको छ। अर्थात् एक वर्षमै ७४ करोड ८२ लाख रुपैयाँभन्दा बढी थपिएको छ। यो करिब १०३.८ प्रतिशतको वृद्धि हो।
सरकारी बचतपत्र तथा ऋणपत्रमा अघिल्लो वर्ष कुनै लगानी देखिएको थिएन। गत आवमा भने यस क्षेत्रमा करिब १ अर्ब ८० करोड ४२ लाख रुपैयाँ लगानी भएको देखिन्छ।
बैंकका बन्ड–डिबेन्चरमा पनि लगानी घट्यो
अघिल्लो आवमा बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा अघिल्लो वर्ष पुनर्बीमा कम्पनीहरूको संयुक्त लगानी २ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ थियो।
गत आवमा भने यो घटेर करिब १ अर्ब ६२ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ। अर्थात् करिब ८६ करोड ४८ लाख रुपैयाँ, वा ३४.६८ प्रतिशतले कमी आएको छ।
समग्र तथ्यांकले पुनर्बीमा कम्पनीहरूले एक वर्षमा आफ्नो लगानी संरचनामा उल्लेख्य परिवर्तन गरेको देखाउँछ। विशेषगरी बैंक मुद्दती निक्षेपमा लगानी घटाउँदै सरकारी ऋणपत्र, नागरिक लगानी कोष तथा म्युचुअल फन्डजस्ता क्षेत्रमा रकम स्थानान्तरण भएको संकेत तथ्यांकले गर्छ।
यद्यपि समग्र लगानी आकार भने अघिल्लो वर्षको तुलनामा झण्डै एक–पाँचौंले खुम्चिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।