वासिङ्टन । अमेरिकी रिपब्लिकन पार्टीको प्रमुख सिनेट सुपर पीएसी (राजनीतिक खर्चका लागि रकम जुटाउने स्वतन्त्र राजनीतिक समिति) सिनेट लिडरसिप फन्डले अहिलेसम्मकै सबैभन्दा बढी त्रैमासिक रकम जुटाएको छ। संघीय निर्वाचन आयोग (एफईसी)को विवरणअनुसार, नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनको अन्तिम केही साताअघि उक्त समितिसँग १५ करोड ५० लाख डलरभन्दा बढी नगद मौज्दात छ।
जुलाईदेखि सेप्टेम्बरसम्म समितिले २७ करोड २९ लाख डलर जुटाएको हो। यसमध्ये २० करोड ९७ लाख डलर दाताहरूबाट प्राप्त भएको थियो। टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले उक्त रकमको ठूलो हिस्सा उपलब्ध गराएका छन्। रिपब्लिकन उम्मेदवार केन प्याक्सटनलाई समर्थन गर्न स्थापना गरिएको टेक्सासस्थित सम्बद्ध राजनीतिक समितिमार्फत मस्कले सेप्टेम्बरमा सिनेट लिडरसिप फन्डलाई १५ करोड ८० लाख डलर दिएका थिए। उनले क्रमशः ७ करोड ५० लाख र ८ करोड ३० लाख डलरका दुई छुट्टाछुट्टै योगदान गरेका हुन्। यी दुवै रकम अमेरिकी राजनीतिक इतिहासकै ठूला राजनीतिक चन्दामध्ये पर्छन्।
मस्कको एक्लो योगदान डेमोक्रेटिक पार्टीको सिनेट मेजोरिटी पीएसीले तेस्रो त्रैमासिकमा जुटाएको कुल रकमभन्दा पनि बढी छ। उक्त समितिले सो अवधिमा कीर्तिमानी १५ करोड १० लाख डलर जुटाएको र सेप्टेम्बरको अन्त्यसम्म ११ करोड १८ लाख डलर नगद मौज्दात रहेको जनाएको छ। यद्यपि, उक्त समितिको एफईसी विवरण सार्वजनिक भइसकेको छैन।
सिनेट लिडरसिप फन्डले यसअघि कायम आफ्नै त्रैमासिक सङ्कलनका कीर्तिमानसमेत तोडेको छ। समितिले सन् २०२४ को तेस्रो त्रैमासिकमा करिब ११ करोड ६० लाख डलर र सन् २०२२ मा ११ करोड १० लाख डलर जुटाएको थियो। मासिक विवरण बुझाइएको सन् २०२० को जुलाईदेखि सेप्टेम्बरसम्म समितिले करिब १५ करोड ७० लाख डलर सङ्कलन गरेको थियो। सीएनबीसीले एफईसीका विवरण समीक्षा गर्दा सन् २०२० को अन्तिम तीन महिनामा जुटाइएको करिब २१ करोड ६० लाख डलर यसअघिको सबैभन्दा ठूलो त्रैमासिक रकम देखिएको थियो।
कीर्तिमानी आर्थिक सहयोगले देशभर आफ्नो ५३ सिटको सिनेट बहुमत जोगाउन संघर्ष गरिरहेको रिपब्लिकन पार्टीलाई ठूलो आर्थिक राहत दिएको छ। निर्वाचन नजिकिँदै जाँदा पार्टीले केही प्रतिस्पर्धात्मक क्षेत्रमा रक्षात्मक रणनीति अपनाउनुपरेको छ।
विज्ञापनसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने संस्था एडइम्प्याक्टका अनुसार, उत्तरी क्यारोलिनामा ३ करोड डलरभन्दा बढी खर्च गरिसकेको सिनेट लिडरसिप फन्डले यसै महिना थप विज्ञापन रोक्दै स्रोतसाधन क्यान्सासतर्फ मोडेको छ। क्यान्सासमा रिपब्लिकन सिनेटर रोजर मार्सललाई डेमोक्रेटिक उम्मेदवार एडम ह्यामिल्टनले अपेक्षाभन्दा कडा चुनौती दिइरहेका छन्।
यसैगरी, द वाल स्ट्रिट जर्नल ले यसै साता जनाएअनुसार, नेब्रास्कामा रिपब्लिकन सिनेटर पीट रिकेट्सको सिट जोगाउन सिनेट लिडरसिप फन्डले १ करोड ५० लाख डलर खर्च गर्ने प्रतिबद्धता जनाएको छ। त्यसमध्ये ७० लाख डलर सम्बद्ध संस्था कर्नहस्कर मेजोरिटीमार्फत खर्च गरिनेछ। सन् २०२४ को निर्वाचनमा डोनाल्ड ट्रम्पले नेब्रास्कामा २० प्रतिशतभन्दा बढी मतान्तरले जितेका थिए। टेक्सासमा पनि रिपब्लिकन पार्टीको चुनावी अभियानमा सिनेट लिडरसिप फन्डको महत्त्वपूर्ण भूमिका छ। डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोले यसअघि रिपब्लिकन पार्टीको सुरक्षित मानिएको सिनेट निर्वाचनलाई देशकै सबैभन्दा महँगो प्रतिस्पर्धामध्ये एक बनाएका छन्।
एडइम्प्याक्टका अनुसार, रिपब्लिकन समूहहरूले सेप्टेम्बरमा मात्रै टेक्सासमा करिब १२ करोड २० लाख डलर विज्ञापनमा खर्च गरेका थिए। अक्टोबरको सुरुआतसम्म निर्वाचनको दिनसम्मका लागि थप ६ करोड ६० लाख डलर बराबरको विज्ञापन बुकिङ गरिएको थियो।
टालारिकोले बिहीबार तेस्रो त्रैमासिकमा ६ करोड ४० लाख डलर जुटाएको घोषणा गरेका छन्। सिनेटका उम्मेदवारले तेस्रो त्रैमासिकमा जुटाएको यो अहिलेसम्मकै ठूलो रकम हो। एफईसीमा बुझाइएको विवरणअनुसार, प्याक्सटनले भने १ करोड २० लाख डलर सङ्कलन गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।