काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र एसियाका सेयर बजारमा आएको भारी गिरावटका लागि डेमोक्र्याटिक पार्टीलाई जिम्मेवार ठहराएका छन् ।
उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै मंगलबारको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले हासिल गरेको जितका कारण सेयर बजारमा गिरावट आएको दाबी गरेका हुन् ।
ट्रम्पले निर्वाचनको नतिजाका कारण सेयर बजारको इतिहासमै खराब दिनमध्ये एक देख्नुपरेको उल्लेख गर्दै यसबाट सर्वसाधारणको अवकाश बचतसमेत घटेको बताएका छन् । उनले बजारको गिरावटका लागि रिपब्लिकन नभई डेमोक्र्याट जिम्मेवार रहेको आरोप लगाएका छन् ।
यद्यपि, बजार चाँडै पहिलेभन्दा ठूलो र बलियो भएर फर्किने उनको दाबी छ ।
यसअघि अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले व्यापक जित हासिल गरेपछि अमेरिका र एसियाका प्रमुख प्रविधि कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको थियो । यसक्रममा ती कम्पनीहरूको बजार पुँजीकरणबाट खर्बौँ अमेरिकी डलर गुमेको छ ।
कृत्रिम बुद्धिमत्ता (एआई) विकासको गति सुस्त हुन सक्ने आशङ्काले प्रविधि तथा एआई क्षेत्रमा लगानीकर्ताको चिन्ता बढाएको छ । एआई पूर्वाधार विस्तारलाई सुस्त बनाउने पक्षमा चुनावी अभियान चलाएका डेमोक्र्याटिक उम्मेदवारहरूको जितपछि प्रविधि क्षेत्रका कम्पनीहरूको सेयरमा व्यापक बिक्री चाप देखिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।