काठमाडौं । फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले खर्च कटौती तथा कर्मचारी सङ्ख्या घटाउने योजनाअन्तर्गत फ्रान्समा कार्यरत कर्मचारीलाई स्वेच्छिक अवकाश लिन प्रस्ताव गरेको छ ।
फ्रान्सेली सञ्चारमाध्यम ‘ला लेत्रे’का अनुसार मेटाको फ्रान्सस्थित कार्यालयमा कार्यरत करिब ३०० कर्मचारीमध्ये १०० जनासम्मले स्वेच्छिक रूपमा जागिर छाड्न सक्नेछन् ।
योजनाअन्तर्गत जागिर छाड्ने कर्मचारीले काम गरेको प्रत्येक एक वर्षबापत २.१५ महिनाको तलब बराबरको रकम पाउनेछन् । पाँच वर्ष काम गरेको कर्मचारीले करिब १०.७५ महिनाको तलब बराबरको रकम प्राप्त गर्नेछ । यो रकम कुल तलबको ८० प्रतिशतका आधारमा गणना गरिनेछ ।
कम्पनीले कर्मचारीलाई नयाँ सीप सिक्न निःशुल्क तालिम दिनुका साथै आफ्नै व्यवसाय वा स्टार्टअप सुरु गर्न आवश्यक सहयोग र मार्गदर्शनसमेत उपलब्ध गराउनेछ ।
फ्रान्सको विशेष श्रम कानुनअनुसार कम्पनी र कर्मचारी युनियनबीच सहमति गरेर सञ्चालन हुने यो योजना स्वैच्छिक हो । यसमा सहभागी हुन चाहने कर्मचारीले नोभेम्बर ५ भित्र आवेदन दिनुपर्नेछ ।
एआईमा लगानी बढाउँदै खर्च कटौती गर्ने रणनीतिअन्तर्गत गुगल र माइक्रोसफ्टले पनि कर्मचारीलाई स्वेच्छिक अवकाशका विकल्प दिएका छन् । मेटाले समेत पछिल्ला दुई वर्षमा हजारौँ कर्मचारीलाई कामबाट हटाइसकेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।