काठमाण्डौ । ज्योति समूहका अध्यक्ष डा. रूप ज्योति र उनीसँग सम्बद्ध कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको प्रयोगबारे महालेखापरीक्षकको प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ।
प्रतिवेदनले समूहसम्बद्ध कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ठूलो परिमाणको कर्जा तोकिएको व्यावसायिक प्रयोजनभन्दा फरक क्षेत्रमा प्रयोग गरेको देखिएको उल्लेख गर्दै थप छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको बताइएको छ।
महालेखापरीक्षकको प्रतिवेदनअनुसार बैंकमा धितो राखेर सुरक्षित रूपमा लिइएको कर्जा सम्बन्धित व्यावसायिक प्रयोजनमै प्रयोग हुनुपर्ने भए पनि केही रकम अन्यत्र परिचालन गरिएको विषय औँल्याइएको छ।
त्यस्तै, कर्जा रकम अपचलन गरी कानुनविपरीत रूपमा विना धितो अन्य व्यक्ति वा संस्थालाई उच्च ब्याजदरमा ऋण लगानी गरिएको विषयसमेत प्रतिवेदनमा उठाइएको जनाइएको छ।
यसअघि पनि ज्योति समूहसम्बद्ध कम्पनीहरूले बैंकबाट लिएको कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरेको तथा अन्यत्र लगानी गरेको विषय सार्वजनिक भएको थियो।
महालेखापरीक्षकको प्रतिवेदनले समेत सोही विषयमा प्रश्न उठाउँदै सम्बन्धित निकायलाई थप अनुसन्धान, तथ्य परीक्षण र आवश्यक कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको बताइएको छ।
अब सम्बन्धित नियामक तथा अनुसन्धान निकायले कर्जा प्रवाह, त्यसको वास्तविक प्रयोग, अन्य पक्षलाई गरिएको लगानी तथा त्यसबाट कुनै कानुनी उल्लङ्घन भए नभएको विषयमा थप छानबिन गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।