काठमाण्डौ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच जलवायु वित्त परिचालन तथा आगामी कोप–३१ को तयारीका विषयमा छलफल भएको छ।
भेटवार्तामा हरित जलवायु कोष, अनुकूलन कोष, कार्बन वित्त तथा जलवायु परिवर्तनबाट सिर्जित हानि तथा नोक्सानीसम्बन्धी कार्यक्रमका लागि अन्तर्राष्ट्रिय स्रोत परिचालन गर्ने विषयमा छलफल भएको हो।
दुवै मन्त्रीबीच नेपालले अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तार गर्ने, जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने तथा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा नेपालको प्राथमिकता सशक्त रूपमा प्रस्तुत गर्ने विषयमा समेत कुराकानी भएको छ।
भेटमा जलवायु वित्त परिचालनका लागि सम्बन्धित मन्त्रालयबीच समन्वय र सहकार्य बढाउने तथा आवश्यक स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
आगामी कोप–३१ लाई लक्षित गर्दै नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको जोखिम, हानि–नोक्सानी र अनुकूलनका आवश्यकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तयारी गरिरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।