काठमाण्डौ । अक्टोबर २०२६ मा नेपालमा १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक भित्रिएका छन्। यस अवधिमा भारतीय पर्यटकलाई उछिन्दै अमेरिकी पर्यटक आगमन पहिलो स्थानमा पुगेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा अमेरिकाबाट १७ हजार ४३७ पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्षको सोही महिनामा १३ हजार २८६ अमेरिकी पर्यटक नेपाल आएका थिए।
यसको विपरीत भारतीय पर्यटक आगमनमा भने उल्लेख्य गिरावट देखिएको छ। अक्टोबरमा भारतबाट १२ हजार ९७ पर्यटक नेपाल आएका छन्, जबकि अघिल्लो वर्षको सोही महिनामा यो संख्या १७ हजार २९८ थियो।
सेप्टेम्बर २०२६ को तुलनामा पनि अमेरिकी पर्यटक आगमन उल्लेख्य बढेको छ। सेप्टेम्बरमा ८ हजार २९९ अमेरिकी पर्यटक नेपाल आएका थिए।
अक्टोबरमा कुल पर्यटक आगमन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष अक्टोबरमा १ लाख २८ हजार ४४३ पर्यटक नेपाल आएका थिए।
चीनबाट पनि पर्यटक आगमनमा उल्लेख्य सुधार भएको छ। अक्टोबरमा ११ हजार ६९५ चिनियाँ पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्षको सोही महिनामा चीनबाट ६ हजार ७५५ पर्यटक आएका थिए।
बेलायतबाट ९ हजार ३८५, अष्ट्रेलियाबाट ९ हजार ३५२ र जर्मनीबाट ६ हजार ११४ पर्यटक नेपाल आएका छन्।
त्यस्तै श्रीलंकाबाट ५ हजार ५६०, बंगलादेशबाट ४ हजार ८९३, फ्रान्सबाट ४ हजार १६४ र म्यानमारबाट ३ हजार २५ पर्यटक नेपाल आएका छन्।
भारतीय घट्दा सार्कको हिस्सा खस्कियो
भारतीय पर्यटक आगमन घटेसँगै सार्क क्षेत्रबाट आउने पर्यटकको संख्या पनि घटेको छ। अक्टोबरमा सार्क मुलुकबाट २४ हजार ५३ पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या २९ हजार ६० थियो।
यस आधारमा सार्क क्षेत्रबाट पर्यटक आगमन १७.२ प्रतिशतले घटेको देखिन्छ।
यसैबीच युरोप र अमेरिकी क्षेत्रबाट आउने पर्यटकको संख्या भने बढेको छ। अक्टोबरमा युरोपबाट ३९ हजार ८७७ पर्यटक नेपाल आएका छन् भने अमेरिकी मुलुकहरूबाट २१ हजार २७० पर्यटक आएका छन्।
अघिल्लो वर्षको अक्टोबरमा अमेरिकी क्षेत्रबाट १६ हजार ४०७ पर्यटक नेपाल आएका थिए।
समग्रमा अक्टोबरको तथ्यांकले नेपालमा पश्चिमी बजारबाट पर्यटक आगमन बलियो बन्दै गएको र परम्परागत रूपमा ठूलो स्रोत बजार मानिएको भारतबाट आगमन कमजोर भएको देखाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।