काठमाण्डौ । होटल, रेष्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानले प्रयोग गर्ने खाना पकाउने एलपी ग्यासमा अब घरायसी उपभोक्ताभन्दा फरक मूल्य लागू हुने भएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघले तत्कालका लागि कुल ग्यासको १० प्रतिशत औद्योगिक तथा व्यावसायिक क्षेत्रमा परल मूल्यमा बिक्री गर्ने निर्णय गरेको हो । निर्णय कार्यान्वयनमा आए हालको लागतअनुसार होटल तथा रेष्टुरेन्टले १४.२ किलोको एक सिलिण्डर ग्यासका लागि करिब २ हजार ७०० रुपैयाँ तिर्नुपर्नेछ ।
हाल नेपाल आयल निगमले घरायसी प्रयोजनको एक सिलिण्डर ग्यास २ हजार ६० रुपैयाँमा बिक्री गर्दै आएको छ । निगमका अनुसार उक्त मूल्यमा बिक्री गर्दा अहिले पनि प्रतिसिलिण्डर करिब ६४० रुपैयाँ घाटा भइरहेको छ । व्यावसायिक क्षेत्रमा यही अनुदानयुक्त मूल्यमा ग्यास बिक्री हुँदा निगममाथिको वित्तीय भार बढिरहेको भन्दै लामो समयदेखि दोहोरो मूल्यको बहस हुँदै आएको थियो ।
उद्योगीको पछिल्लो निर्णयसँगै अब व्यावसायिक प्रयोजनका सिलिण्डरलाई निलो रङ लगाएर बजारमा पठाइनेछ ।
प्रत्येक ग्यास उद्योगले खरिद आदेश लिँदा तत्कालका लागि १० प्रतिशत ग्यास परल मूल्यमा खरिद गरी व्यावसायिक क्षेत्रमा बिक्री गर्ने तयारी गरेको छ ।
सरकारले भने सुरुमा कुल ग्यासको ३० प्रतिशत औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई परल मूल्यमा बिक्री गर्न प्रस्ताव गरेको थियो । तर उद्योगीले तत्काल १० प्रतिशतबाट व्यवस्था कार्यान्वयनमा लैजाने निर्णय गरेका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।