काठमाण्डौ । जटिल प्रसूति समस्यामा परेकी डोल्पाकी एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती महिलालाई उद्धार गरिएको हो ।
डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ निवासी महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचार आवश्यक परेको थियो । स्थानीयस्तरमा आवश्यक उपचार सम्भव नभएपछि कात्तिक १७ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी सुर्खेत पुर्याइएको मन्त्रालयले जनाएको छ ।
दुर्गम तथा विकट क्षेत्रमा रहेका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याई सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यातायात र स्वास्थ्य सेवाको सहज पहुँच नभएका दुर्गम क्षेत्रका महिलालाई आपत्कालीन अवस्थामा जीवनरक्षक स्वास्थ्य सेवा उपलब्ध गराउन हवाई उद्धार कार्यक्रम महत्वपूर्ण हुँदै आएको मन्त्रालयको भनाइ छ ।
महिला तथा नवजात शिशुको जीवन रक्षा र सुरक्षित मातृत्व प्रवर्द्धनका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।