काठमाण्डौ । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि सोधपुछ र धरपकड गरिएको घटनाबाट सरकारले आफूलाई अलग देखाएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त कदम सरकार वा प्रधानमन्त्रीको पूर्वअनुमतिमा नभएको दाबी गर्दै प्रहरीले आफ्नो आन्तरिक अनुसन्धानका क्रममा यस्तो कदम चालेको बताएका छन् ।
मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले प्रहरीका आन्तरिक सूचना कसरी बाहिरिए भन्ने विषयमा जाँचबुझ गर्न पत्रकारसँग सोधपुछ गरिएको बताए ।
विशेषगरी प्रधानमन्त्रीले प्रहरी महानिरीक्षकको राजीनामा मागेको वा कारबाहीको तयारी गरेको भन्ने समाचार कसरी बाहिरियो भन्ने विषयमा प्रहरीले चासो राखेको उनको भनाइ थियो ।
उनले यस्तो सूचना तथ्यजाँचबिनै कसरी प्रकाशित भयो र त्यसको स्रोत कहाँ थियो भन्नेबारे प्रहरीले आफ्नो तहबाट बुझ्न खोजेको दाबी गरे ।
प्रवक्ता पोखरेलका अनुसार समाचार कक्षमा प्रहरी पुग्ने र पत्रकारसँग सोधपुछ गर्ने विषयमा सरकार वा प्रधानमन्त्रीलाई पहिल्यै जानकारी थिएन ।
‘सरकारसँग पूर्ण अनुमति लिएर गरिएको होइन । प्रधानमन्त्रीज्यूलाई पनि यसबारे जानकारी थिएन,’ पोखरेलले भने, ‘प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको विषयमा सोधपुछ गरेको हो ।’
घटनाबारे जानकारी पाएपछि प्रधानमन्त्रीले कुनै पनि पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नराख्न निर्देशन दिएको पनि उनले बताए ।
सरकारले पत्रकारलाई पक्राउ वा नियन्त्रणमा लिइएको दाबी भने अस्वीकार गरेको छ ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारसँग सोधपुछ गरिएको घटनाले प्रेस स्वतन्त्रता र समाचार स्रोतको गोपनीयतामाथि प्रश्न उठिरहेका बेला सरकारको यस्तो स्पष्टीकरण आएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।