काठमाण्डौ। पाकिस्तानमा खाना पकाउने ग्यासको सरकारी दर र बजार मूल्यबीच ठूलो अन्तर देखिएको छ। त्यहाँको तेल तथा ग्यास नियामक प्राधिकरण (ओजीआरए) ले एलपीजीको मूल्य प्रतिकिलो करिब २९५ पाकिस्तानी रुपैयाँ तोके पनि इस्लामाबादका मुहम्मद सगिरले १२ किलोको सिलिन्डर ६ हजार ५०० रुपैयाँमा किने। उनले प्रतिकिलो करिब ५४२ रुपैयाँ तिरे, जुन सरकारी दरभन्दा ८४ प्रतिशत बढी हो।
ग्यास महँगिँदा होटल र रेस्टुरेन्टको खर्च पनि चुलिएको छ। इस्लामाबादका रेस्टुरेन्ट व्यवस्थापक खिजर शाहले बीबीसीलाई बताएअनुसार एक महिनाअघि १४ देखि १५ हजार रुपैयाँ पर्ने ४५ किलोको सिलिन्डर अहिले २४ देखि २५ हजार रुपैयाँ पर्छ। उनको रेस्टुरेन्टमा दैनिक एउटा सिलिन्डर खपत हुन्छ। क्वेटाका होटल व्यवसायी नविद अहमदले भने ग्यास कटौती र बढ्दो खर्चका कारण तीनमध्ये दुई होटल बन्द गर्नुपरेको बताए।
किन चुलियो मूल्य?
पाकिस्तानका ऊर्जामन्त्री अली परवेज मलिकका अनुसार इरानसँगको सीमा बन्द भएपछि एलपीजीको आपूर्ति प्रभावित भयो। अभावको फाइदा उठाउँदै कतिपय विक्रेताले प्रतिकिलो ७०० रुपैयाँसम्म असुलेको उनले बताए। पाकिस्तानमा दैनिक ६ हजार ५०० देखि ७ हजार टन एलपीजीको माग छ, तर स्वदेशी उत्पादन २ हजारदेखि २ हजार ५०० टन मात्रै छ। आयात र भण्डारणको सीमित क्षमताले पनि संकट बढाएको मन्त्री मलिकको भनाइ छ।
आपूर्ति बढाउन सरकारले चार सरकारी संस्थालाई एलपीजी आयात गर्न निर्देशन दिएको छ। ती संस्थाले ल्याएको ग्यास बजारमा पठाउन सके मूल्य प्रतिकिलो करिब ४५० रुपैयाँ हुन सक्ने मन्त्रीको अनुमान छ। सरकारले कोटा हटाएर स्वदेशी एलपीजी लिलामीमार्फत बेच्ने व्यवस्था पनि अघि सारेको छ। तर पाकिस्तान एलपीजी उद्योग संघका अध्यक्ष इरफान खोखरले अन्तर्राष्ट्रिय मूल्य बढिरहेका बेला नयाँ नीतिबाट तत्काल राहत पाउन कठिन हुने भन्दै आयात कर र टर्मिनल शुल्क घटाउन माग गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।