काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् । पटाका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागीमा स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुईतले घर, दुईवटा गाईगोठ, भान्छाघर र भण्डारघर जलेका हुन् । प्रहरीले एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको हुन सक्ने अनुमान गरेको छ ।
प्रहरीलाई उद्धृत गर्दै नेपाल प्रेसले जनाएअनुसार बुधबार साँझ ६ः४५ बजे सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको थियो । आगो निभाउन रतुवामाई र रंगेली नगरपालिका तथा कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको थियो । दमकलसँगै स्थानीयवासी र सुरक्षाकर्मी आगो नियन्त्रणमा जुटेका थिए ।
आगलागीका बेला गोठबाट गाईगोरु निकाल्ने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्की घाइते भएकी छन् । उनको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
आगो लाग्नुको कारण पटाका हुन सक्ने प्रारम्भिक आकलन गरिए पनि पुष्टि भइसकेको छैन । क्षतिको विस्तृत विवरण संकलन भइरहेकाले वास्तविक रकम यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।