काठमाण्डौ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको चर्चा चर्किरहेका बेला उनको गृहजिल्ला गोपालगञ्ज हिंसात्मक प्रदर्शनले तनावग्रस्त बनेको छ। गतिविधिमा प्रतिबन्ध लगाइएको अवामी लिगका सयौँ नेता तथा कार्यकर्ता धारिला हतियारसहित सडकमा उत्रिएपछि प्रहरी र प्रदर्शनकारीबीच तनाव बढेको हो।
आइतबार भएको प्रदर्शनका क्रममा अवामी लिगका कार्यकर्ताले प्रहरीको अवरोध तोड्दै विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन्। प्रहरीको बख्तरबन्द गाडी, प्रहरी बिट, सार्वजनिक संरचना तथा ऐतिहासिक स्मारकमा क्षति पुर्याइएको छ।
बंगलादेशी सञ्चारमाध्यम द डेली स्टार र ढाका ट्रिब्युनका अनुसार प्रदर्शनकारीहरू खुकुरी, बन्चरो, भाला, लाठी तथा काठका डन्डासहित सडकमा उत्रिएका थिए। उनीहरूले शेख हसिना र अवामी लिगको समर्थनमा नाराबाजी गर्दै सहरका विभिन्न भागमा शक्ति प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीले सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका थिए। गोपालगञ्जको जुलाई आन्दोलन स्मारक र विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरका संरचनासमेत तोडफोडको निशानामा परेका छन्।
प्रदर्शन नियन्त्रणमा चुनौती देखिएपछि उच्च अधिकारी सरुवा
हिंसात्मक प्रदर्शनपछि बंगलादेश सरकारले गोपालगञ्जका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई तत्काल सरुवा गरेको छ।
जिल्ला प्रहरी प्रमुख मोहम्मद हबीबुल्लाहलाई फेनी जिल्लामा पठाइएको छ भने उनको स्थानमा प्रत्युष कुमार मजुमदारलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी मोहम्मद आरिफ उज्जमानलाई जिम्मेवारीबाट हटाएर सार्वजनिक प्रशासन मन्त्रालयमा तानिएको छ। उनको स्थानमा हबीगञ्जका प्रमुख जिल्ला अधिकारी जीएम सरफराजलाई खटाइएको छ।
प्रदर्शनकारीले सुरक्षा घेरा तोडेर सरकारी संरचनामा क्षति पुर्याएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ।
सडकमा हतियार बोकेर शक्ति प्रदर्शन
आइतबार बिहानैदेखि गोपालगञ्जका विभिन्न स्थानबाट अवामी लिगका नेता तथा कार्यकर्ता मोटरसाइकल, बस, ट्रक र अन्य सवारीसाधनमा सहर प्रवेश गरेका थिए।
दिउँसो करिब १२ बजे बीएसआईसी पुल क्षेत्रबाट सुरु भएको जुलुसले प्रहरीको अवरोध तोड्दै प्रमुख सडकहरूमा प्रदर्शन गरेको थियो।
प्रदर्शनकारीले केही सरकारी संरचनाका नामपट्टिका हटाएर पुराना नाम राखेका थिए। लामो समयदेखि बन्द रहेको अवामी लिगको स्थानीय कार्यालयसमेत खोलिएको थियो।
प्रदर्शनका कारण स्थानीय व्यापारीले पसल बन्द गरेका थिए भने सर्वसाधारणको आवतजावत प्रभावित भएको थियो।
स्थिति नियन्त्रणमा लिन बंगलादेश सरकारले करिब १५० जना बोर्डर गार्ड बंगलादेशका सुरक्षाकर्मी परिचालन गरेको छ। यसका अतिरिक्त प्रहरी तथा अन्य सुरक्षा निकायलाई संवेदनशील क्षेत्रमा खटाइएको छ।
डिसेम्बरमा फर्किने हसिनाको तयारीले राजनीतिक तरंग
गोपालगञ्जमा तनाव बढिरहेका बेला भारतमा निर्वासन जीवन बिताइरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने योजना अघि सारेकी छन्।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनबाट सत्ता गुमाएपछि भारत पुगेकी हसिना त्यसयता उतै बस्दै आएकी छन्।
उनले स्वदेश फर्केर अदालतसमक्ष उपस्थित हुने इच्छा व्यक्त गरेकी छन्। त्यसका लागि उनका लन्डनस्थित कानुन व्यवसायीहरूले नयाँदिल्लीस्थित बंगलादेशी कूटनीतिक नियोगसमक्ष नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन आग्रह गरेका थिए।
तर बंगलादेश सरकारले उनको माग स्वीकार गरेको छैन। सरकारले हसिनालाई भारतबाट सुपुर्दगी सन्धिमार्फत फिर्ता ल्याउने अडान राखेको छ।
मृत्युदण्डको फैसला र भारतसँगको कूटनीतिक तनाव
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२५ नोभेम्बर १७ मा हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अनुपस्थितिमै मृत्युदण्ड सुनाएको थियो।
सन् २०२४ को विद्यार्थी आन्दोलन दबाउने क्रममा भएको हिंसात्मक कारबाहीमा उनको भूमिकालाई लिएर उक्त फैसला सुनाइएको थियो। तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मृत्युदण्ड सुनाइएको थियो।
हसिनाले भने आफूमाथिका आरोप अस्वीकार गर्दै फैसला राजनीतिक उद्देश्यबाट प्रेरित भएको दाबी गरेकी छन्। मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले समेत अभियुक्तको अनुपस्थितिमा भएको सुनुवाइ र मृत्युदण्डको सजायलाई लिएर निष्पक्ष न्याय प्रक्रियासम्बन्धी प्रश्न उठाएको छ।
बंगलादेश सरकारले हसिनाको सुपुर्दगीका लागि भारतसँग आग्रह गर्दै आए पनि भारतले उनलाई हस्तान्तरण गर्ने विषयमा अन्तिम सार्वजनिक निर्णय गरेको छैन।
यसले दुई देशको कूटनीतिक सम्बन्धमा समेत संवेदनशीलता थपेको छ।
हसिनाको फिर्तीअघि नै शक्ति प्रदर्शन !
हसिनाको सम्भावित स्वदेश फिर्तीको चर्चा चलिरहेकै बेला गोपालगञ्जमा भएको हिंसात्मक प्रदर्शनलाई बंगलादेशको पछिल्लो राजनीतिक तनावसँग जोडेर हेरिएको छ।
अवामी लिगका समर्थक पुनः संगठित भएर सडकमा उत्रिन थालेपछि सरकारका लागि सुरक्षा व्यवस्था कायम राख्नु चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।
अर्कोतर्फ हसिनाको मृत्युदण्डसम्बन्धी फैसला, सुपुर्दगी प्रक्रिया र उनको राजनीतिक भविष्यलाई लिएर बंगलादेशभित्र मतभेद कायमै छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।