काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले विकास आयोजना अघि बढाउनुअघि सम्बन्धित क्षेत्रको भौगर्भिक अवस्था र सम्भावित जोखिमको वैज्ञानिक मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। उनले पूर्वाधार निर्माणका योजनामा भौगर्भिक अध्ययनलाई प्राथमिकता दिन आग्रह गरे।
नेपाल भौगर्भिक समाजले काठमाण्डौमा आयोजना गरेको भौगर्भिक सम्मेलनमा बोल्दै अर्यालले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल र सहरी पूर्वाधार निर्माणलाई वैज्ञानिक अध्ययनसँग जोड्नुपर्नेमा जोड दिए।
नेपालको विशिष्ट भौगर्भिक बनावटका कारण भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट र भूक्षयजस्ता विपद्को जोखिम उच्च रहेको उनको भनाइ थियो। यस्ता विपद्बाट हुने क्षति घटाउन सम्भावित जोखिमको पहिचान, अनुसन्धान र पूर्वतयारी आवश्यक रहेको उनले बताए।
अर्यालले हिमालय क्षेत्रको भूविज्ञानलाई विकास निर्माण, वातावरण संरक्षण र विपद् व्यवस्थापनको आधारका रूपमा लिनुपर्ने धारणा राखे। भौगर्भिक अवस्थाको अध्ययनबाट प्राप्त निष्कर्षअनुसार विकासका योजना कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
संविधानले स्वच्छ वातावरणको हक र प्राकृतिक स्रोतको दिगो उपयोगलाई महत्त्व दिएको उल्लेख गर्दै उनले ती व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीति निर्माण आवश्यक रहेको बताए।
समाजका अध्यक्ष भाष्कर खतिवडाले हिमालय क्षेत्रको भौगर्भिक अवस्था र भूविज्ञानसम्बन्धी अनुसन्धानका अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए। सम्मेलनमा जलवायु परिवर्तन, प्राकृतिक स्रोत व्यवस्थापन र पर्वतीय क्षेत्रको दिगो विकासका विषयमा समेत छलफल हुने उनले बताए।
आगामी शनिबारसम्म चल्ने सम्मेलनमा २७ देशका ३५० भन्दा बढी भौगर्भिक क्षेत्रका अनुसन्धानकर्ता तथा जानकार सहभागी छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।