काठमाण्डौ । लगानीकर्ताले अब आईपीओ, हकप्रद, बोनस र लाभांश वितरणदेखि लकइनसम्मका सूचना ‘मेरो शेयर’मै हेर्न पाउने भएका छन्। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले यी विषयसँग सम्बन्धित सूचना मेरो शेयरमा प्रकाशित गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ।
सीडीएससीका अनुसार धितोपत्र निष्कासनकर्ता, बिक्री प्रबन्धक तथा सेयर रजिस्ट्रारले सी–आस्बा (C-ASBA) सफ्टवेयर प्रयोग गरी त्यस्ता सूचना प्रकाशित गर्नेछन्। यो व्यवस्थामा आईपीओ तथा हकप्रद निष्कासन, बोनस, लाभांश वितरण, रिडेम्प्सन (Redemption) र लकइन (Lock-in) सम्बन्धी जानकारी समेटिएको छ।
यससँगै सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सेयर रजिस्ट्रारले प्रणालीमा प्रकाशित गरेका सूचना लगानीकर्ताले मेरो शेयरबाटै प्राप्त गर्न सक्नेछन्। निष्कासन तथा सेयरधनीसँग सम्बन्धित विभिन्न जानकारी एउटै प्रणालीमा उपलब्ध हुँदा सूचना खोज्न थप सहज हुने देखिन्छ।
सीडीएससीको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार मेरो शेयरका दर्ता प्रयोगकर्ता ७२ लाख २२ हजार ४८० छन्। तीमध्ये सक्रिय प्रयोगकर्ताको संख्या ५० लाख ७६ हजार ३५९ रहेको छ। ठूलो संख्यामा लगानीकर्ताले प्रयोग गर्ने यही प्रणालीमा निष्कासन र वितरणसम्बन्धी सूचना प्रकाशित गर्ने व्यवस्था थपिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।