काठमाण्डौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड विस्तारका लागि ठेक्का सम्झौता भएको छ। करिब ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा १९.२ किलोमिटर लामो यो खण्ड सर्भिस लेनसहित ६ लेनमा विस्तार गरिनेछ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजना २ वर्ष ५ महिना अर्थात् २९ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको जानकारी दिएका छन्। पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत यो खण्डको ठेक्का सम्झौता भएको हो। मुख्य सडक चार लेनको हुनेछ भने सर्भिस लेन जोड्दा कुल ६ लेन हुनेछ।
लम्सालका अनुसार आयोजनाअन्तर्गत २ वटा ठूला र ६ वटा साना गरी ८ वटा पुल तथा ७२ वटा कल्भर्ट निर्माण गरिनेछ। सडक विस्तारसँगै पैदलयात्री र सवारीसाधनको सुरक्षित आवागमनका लागि छुट्टाछुट्टै संरचनासमेत बनाइनेछन्।
पैदलयात्रीका लागि २ वटा अन्डरपास र एउटा आकाशे पुल निर्माण गरिनेछ भने सवारीसाधनका लागि एउटा अन्डरपास बनाइनेछ।
आयोजनामा वन्यजन्तुमैत्री संरचनासमेत समावेश गरिएको लम्सालले बताएका छन्। यस्ता संरचनाले राजमार्ग क्षेत्रमा वन्यजन्तुको सुरक्षित आवागमनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।