काठमाडौं । चीनले विपद्पछिको नेपालको पुनर्निर्माणमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गरी यथाशीघ्र सामान्य जनजीवनमा फर्काउन सहयोग गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ च्याचुनले बताएका हुन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले गत अगस्टको अन्त्यतिर नेपालमा आएको विनाशकारी बाढीपछि चीनले आपत्कालीन सहायता र उद्धारमा सहयोग गरेको जानकारी दिए।
उनका अनुसार चीनले नेपाललाई नगद सहायता र पाँच चरणमा राहत सामग्री उपलब्ध गराउनुका साथै सुरुङ उद्धार तथा न्यायिक पहिचानसम्बन्धी २० जनाभन्दा बढी विशेषज्ञ पठाएको थियो। चीनले मौसम, जलविज्ञान र भूगर्भीय अवस्थासम्बन्धी तथ्याङ्कसमेत निरन्तर उपलब्ध गराएको थियो।
नेपालमा विपद्ले ठूलो क्षति पुर्याएको र पुनर्निर्माण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै गुओले चीनले अवस्थालाई नजिकबाट नियालिरहेको बताए।
उनले आपत्कालीन सहायताबाहेक नेपालको पुनर्निर्माणमा पनि सहयोग गर्ने तथा प्राकृतिक विपद् रोकथाम र जोखिम न्यूनीकरण क्षमता अभिवृद्धिमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।