काठमाण्डौ । विश्वका अधिकांश बीमा कम्पनीहरुले बीमाको विविध क्षेत्रमा कृत्रिम बौद्धिकता(एआई)को प्रयोग गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । दाबी सेवा प्रदायक गालाघेर बास्सेटले गरेको सर्वेक्षणमा विश्वका अधिकांश बीमकहरुले दाबी भुक्तानी प्रक्रिया,अन्डरराईटिङ र ग्राहकहरुको समस्या समाधान गर्नका लागि एआई च्याटबट र एआई जेनेरेटिभको प्रयोग गरिरहेको तथ्य सार्वजनिक भएको हो ।
सर्वेक्षणमा सन् २०२४ मा बीमकहरुले एआई प्रविधिको प्रयोग, मूल्य निर्धारणको बारेमा जानकारी दिन अन्डरराईटिङ जोखिमको उचित मूल्यांकन र कर्मचारीलाई टिकाइराख्नका लाभि विभिन्न रणनीतिहरुमा जोड दिईरहेको पाइएको छ ।
विश्वभरका बीमकहरुको आँकडाअनुसार एआई प्रविधिको प्रयोग सबैभन्दा धेरै ग्राहक सेवामा भईरहेको छ । ग्राहक सेवामा ६७ प्रतिशत र दाबी प्रक्रियाम ४५ प्रतिशत एआई प्रविधिको प्रयोग भईरहेको रिपोर्टमा उल्लेख गर्रिएको छ ।
यस्तै यी प्रविधिहरुले बीमकहरुको जोखिम व्यवस्थापनमा समेत मुख्य भूमिका निर्वाह गरिरहेका छन् । जोखिम व्यवस्थापनमा ३१ प्रतिशत र अन्डरराईटिङ प्रक्रियामा २५ प्रतिशत एआई प्रविधिको प्रयोग भईरहेको छ ।
बीमा क्षेत्रमा एआई प्रविधिको प्रयोग विश्वका सबै क्षेत्रमा स्थिर रहेको छ । तर प्रतिशतका आधारमा भने केहि तलमाथि देखिएको छ ।
विश्वका ४४ प्रतिशत बीमकहरु दाबी भुक्तानी प्रक्रियामा एआई च्याटबट र जेनेरेटिभ एआईको प्रयोग गर्ने प्रक्रियामा रहेको सर्वेक्षणमा उल्लेख छ । साथै,४२ प्रतिशत बीमकहरुले भने यी प्रविधिहरुलाई पूर्ण रुपमा अपनाईसकेका छन् ।
क्षेत्रगत रुपमा न्यून भिन्नता देखिएको छ । बेलायतमा ४० प्रतिशत बीमकले एआई च्याटबट अथवा जेनेरेटिभ एआई टुल्सको प्रयोग गरिसकेका छन् । सर्वेक्षणका अनुसा्र ४३ प्रतिशत बीमक भने एआई प्रविधिको प्रयोगलाई कार्यान्वयन गर्नतर्फ उन्मुख छन् ।
सुरुवाती चरणमा एआईले चुनौतिहरु निम्त्याईरहेको रिपोर्टमा उल्लेख छ । सर्वेक्षेणमा उत्तर अमेरिका,बेलायत,अष्ट्रेलिया र न्यूजील्याण्डमा बीमा व्यवसाय गरिरहेका १५० बीमकहरुलाई समेटिएको थियो । -एजेन्सी