काठमाण्डौ । गत साउन ९ गते दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको विमानका पाइलटको सकुशल उद्धार गर्ने प्रहरीलाई पुरस्कृत गरिएको छ । सौर्य एयरको विमान दुर्घटनामा परेको पाइलटलाई जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका हुन् ।
उनीहरुलाई प्रहरी प्रधान कार्यालयले नगद पुरस्कारसहित सम्मान गरेको हो । पुरस्कारसहित सम्मानित हुनेमा प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशी रहेका छन् ।
गत साउन ९ गते काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ः११ बजे उड्ने वित्तीकै विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ जनाको मृत्यु र विमानका क्याप्टेन घाइते बनेका थिए ।