काठमाण्डौ। आइतबारका लागि तय भएको नेपाल, भारत र बंगलादेशका मन्त्रीबीचको विद्युत् व्यापारको त्रिपक्षीय सम्झौता रोकिएको छ। आरक्षणको विरोधमा बंगलादेशको हिंसात्मक आन्दोलनका कारण उक्त सम्झौता रोकिएको हो।
ऊर्जा मन्त्रालयले नेपाल, भारत र बंगलादेशीसँग हुने भनिएको त्रिपक्षीय विद्युत व्यापार सम्झौता रोकिएको बताए। सम्झौताका लागि अर्को मिति तय गरिने जनाएको छ।
तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता आइतबार विद्युत् व्यापार सम्झौता गर्ने तयारी भएको थियो। नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, बंगलादेशका ऊर्जा मन्त्री नस्रुल हमिद र भारतका पावर मिनिस्टर मनोहरलाल खट्टर बीच ऊर्जा सम्झौता हुने भनिएको थियो।
जसमा प्रतियुनिट बिजुलीको मूल्य ६.४ सेन्ट नेपालले पाउने गरी सम्झौता गर्ने तयारी गरेको थियो। नेपालले ५ वर्षको विद्युत् निर्यातबाट १ अर्ब २३ करोड रूपैयाँ आम्दानी गर्ने बताइएको थियो।
सम्झौता नेपाल विद्युत् प्राधिकरण, एनभीभीएन भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी) बीच गर्ने गरी तयारी भएको थियो।
नेपालमा उत्पादन भएको ४० मेगावाट विद्युत् बंगलादेश,भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौता अनुसार ५ वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो।