काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जालाई समृद्धिको आधार बनाउन निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गरिदिन आग्रह गरेको छ।
इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवाल समेटेर पारित गराउन माग गरेको हो।
इप्पानले पाइपलाइनमा रहेका १३ हजार मेगावाट क्षमताका आयोजनाको छिटो विद्युत् व्यापार सम्झौता (पिपिए) खुला गराउन माग गरेको छ।
यस्तै,प्रस्तावित विधेयकमा भएको प्रतिस्पर्धाको प्रावधानले निजी क्षेत्रको ढोका बन्द गरी उनीहरूसँग रहेका करिब ३० हजार मेगावाट क्षमताका आयोजनाहरू स्वतः खारेज हुने र ती आयोजना विदेशीको हातमा जाने गुनासो गरेका हुन्।