काठमाण्डौ । अघिल्लो दिन व्यापक गिरावटको सामना गरेका विश्व सेयर बजारहले आज भने ‘बाउन्सब्याक’ गरेका छन् । आज विश्वका अधिकांश सेयर बजारमा वृद्धि देखिएको छ ।
आज वृद्धिका साथ सुरुवात गरेको जापानको सेयर बजार १०.२३ प्रतिशत अर्थात ३ हजार २१७ अंकले बढेर बन्द भएको छ । यो वृद्धिसँगै निक्की२२५ इन्डेक्स ३४ हजा। ६७५ विन्दुमा पुगेको छ । अघिल्लो दिन निक्की२२५ सूचक ३१ हजार ४५८ विन्दुमा झरेको थियो ।
आज अमेरिकाको सेयर बजार पनि बढेको छ । अमेरिकाको एस एण्ड पी ५०० फ्युचर्स १ प्रतिशतले बढेको छ भने नास्डक पनि १.४ प्रतिशतले बढेको छ ।
यस्तै युरोपको स्टकएक्स६०० सूचकमा पनि ०.७ प्रतिशतको सुधार आएको छ ।
सोमबार एस एण्ड पी इन्डेक्स ३ प्रतिशत र नास्डक ३.४३ प्रतिशतले घटेको थियो । अमेरिकामा आर्थिक मन्दी आउन सक्ने भयका कारण लगानीकर्ताले बिक्री बढाउँदा अमेरिका लगायत विश्वका सेयर बजारमा अघिल्लो दिन व्यापक गिरावट आएको थियो ।
यस्तै १० वर्षे ट्रेजरीको प्रतिफल पनि बढेर ३.८४ प्रतिशत पुगेको छ । जुन घटेर ३.६६७ प्रतिशतसम्म पुगेको थियो ।