काठमाण्डौ। गत आर्थिक वर्षमा मरमसलाको मूल्य सबैभन्दा धेरै बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार असार महिनाको मूल्य वृद्धिदर गत वर्षको सोही अवधिको तुलनामा आधाभन्दा कम देखाएको छ।
राष्ट्र बैंकले मासिक रूपमा सार्वजनिक गर्ने पछिल्लो आर्थिक तथा वित्तीय सम्बन्धी प्रतिवेदनमा मूल्य वृद्धि गत वर्षभन्दा कम हो।उपभोक्ताहरूले भने बजारमा मूल्य घट्नुको साटो झन् झन् बढ्दै गएको भन्दै आक्रोस व्यक्त गरिरहेका छन्।
यता राष्ट्र बैंकले भने देशकका विभिन्न ठाउँहरूमा गरिएको सर्वेक्षणका आधारमा मूल्य वृद्धिसम्बन्धी विवरण सार्वजनिक गर्ने भएकाले यो नै सत्य भएको बताएको छ।
यस्तै, राष्ट्र बैंकका अनुसार पछिल्लो प्रतिवेदनमा उल्लेख भएको विवरणमा मूल्यवृद्धि नभएको जनाएको छ। मूल्य बढिरहेको तर मूल्य वृद्धिदर मात्र घटेको देखाएको राष्ट्र बैंकको भनाइ छ।
प्रतिवेदनअनुसार गत असार महिनाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत छ। एक वर्षअघि यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो। त्यो भनेको समग्रमा देशको मूल्यवृद्धि गत वर्षको असारको तुलनामा कम हो।
जसमा हाल मूल्य वृद्धिदर गत वर्षभन्दा घटेको देखिन्छ। जुन मूल्य बढिरहेको तर त्यसको दर गत बर्षको भन्दा घटेको राष्ट्र बैंकले बताएको छ। त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत छ। त्यो पनि अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो।
अघिल्लो आर्थिक वर्षमा भने योमुद्रास्फीति ७.७४ प्रतिशत थियो। गत आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष उक्त समूहको मुद्रास्फीति ६.६२ प्रतिशत थियो।
गत वर्ष असारमा ७.३८ प्रतिशत रहेको खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि गत असार महिनामा ४.१० प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यस्तै गत आर्थिक वर्षमा गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६४ प्रतिशत रहेको छ। त्यसभन्दा अघिल्लो वर्ष उक्त समूहको मुद्रास्फीति ८.६२ प्रतिशत थियो। गत असारमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१५ प्रतिशत मात्र भयो। सोही समूहको अघिल्लो वर्षको मुद्रास्फीति चाहिँ ७.४८ प्रतिशत थियो।
यस्तै, औसतमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर कम देखिए पनि धेरै खपत हुने खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि निकै भएको प्रतिवेदनले देखाएको छ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसलाको २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरूको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीको ८.२९ प्रतिशत मूल्य वृद्धि भएको छ।
गत आर्थिक वर्षमा वार्षिक औसत थोक मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति ८.४७ प्रतिशत रहेको थियो। गत असार महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.४१ प्रतिशत रहेकोमा अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.९८ प्रतिशत रहेको थियो।
गत वर्ष गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाको ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निशिङ तथा घरायसी उपकरणको ४.७५ प्रतिशत र कपडा तथा जुत्ता चप्पलको ४।५६ प्रतिशत मूल्य वृद्धि भएको छ।