काठमाण्डौ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणहरुलाई आईपीको जारी गर्न प्रक्रियाको थालनी गरेको छ । कम्पनीले रु.१०० अंकित दरका २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयरको निष्कासन गर्ने तयारी गरेको हो ।
कम्पनीले यसका लागि खरिद प्रत्याभूति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
आज एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल,नबिल ईन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले उक्त सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सुदुरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको धनगढीमा मुख्य कार्यालय स्थापना गरि नेपाल बीमा प्राधिकरणबाट बीमा ऐन २०७९ तथा बीमा नियमावली २०४९ बमोजिम २०७९ चैत २८ गते इजाजतप्राप्त गरि २०८० असार ३१ गतेदेखि सञ्चालित कम्पनी हो । कम्पनीले सम्पत्ति बीमा, घर(आवास) बीमा, दुर्घटना बीमा, मोटर बीमा, स्वास्थ्य बीमालगायतका लघु निर्जीवन बीमासम्बन्धि सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले ललितपुर, गुसिङ्गलमा रहेको प्रादेशिक कार्यालय सहित आफ्ना देश भरि छरिएका ३ शाखा, ११ उप–शाखा तथा १४ विस्तारित (एक्सटेन्सन) शाखा कार्यालयहरु मार्फत सेवा दिईरहेको छ ।