काठमाण्डौ ।भुटानको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल, पारो अन्तराष्ट्रिय विमानस्थल प्राविधिक रुपमा विश्वको सबैभन्दा कठिन विमानस्थल मध्ये एक हो । १८ हजार फिट उचाईको २ वटा चुचुरोको बीचमा छोटो रनवे भएको यो विमानस्थलमा उडान गर्न प्राविधिक ज्ञान भएको हुनुपर्छ ।
यो विमानस्थल र वरपरको चुनौतिपूर्ण वातावरणले ८ लाख जनसंख्या भएको भुटान यात्रालाई रोमान्चित बनाईदिन्छ ।
विगत २५ वर्षदेखि भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयर उडाईरहेका क्पाप्टेन चिमी दोर्जी पारो विमानस्थल कठिन भएको तर खतरापूर्ण भने नरहेको बताउँछन् । ‘पाइलटको सिपका आधारमा यो विमानस्थल चुनौतिपूर्ण छ । तर यो खतरापूर्ण भने छैन । किनकी यदि त्यस्तो हुन्थ्यो भने म यहाँ विमान उडाईरहेको हुन्थेन,’ उनी भन्छन् ।
पारो विमानस्थल ‘सी’ श्रेणीमा पर्ने गर्छ । जसको अर्थ यहाँ विमान उडाउन पाइलटले विशेष तालिम लिएको हुनु पर्छ । यहाँ पाइलटले राडार बिना नै ल्याण्ड गर्नुपर्छ ।
यसका अतिरिक्त यहाँ उडान गर्न स्थानिय सिप र यहाँको भौगोलिक अवस्थाको बारेमा समेत जानकार हुनुपर्ने दोर्जी बताउँछन् ।
भुटानमा ९७ प्रतिशत पहाडी क्षेत्र रहेको छ । राजधानी थिम्पु समुन्द्र सतहभन्दा ७ हजार ७१० फिट(२३५० मिटर)उचाईमा अवस्थित छ । पारो भने केही कम अर्थात ७ हजार ३८२ फिट उचाईमा छ ।
हावाको उच्च वेगका कारण सुरक्षा सावधानी अपनाउन पारो विमानस्थलका अधिकारीहरु प्रायःसाँझ पर्नु अघि नै विमानहरु अवतरण होस् भन्ने चाहन्छन् । राडार नभएका कारण यहाँ रात्रिकालिन उडान हुदैन ।
भुटानमा यतिबेला थुप्रै परिवर्तनहरु भईरहेका छन् । परिवर्तन भईरहेको एउटा क्षेत्र उड्ययन पनि हो । भारतको नजिक रहेको दक्षिण भुटानी क्षेत्र गेलेफुलाई नयाँ शहरका रुपमा विकास गरिदैछ । यहाँ एउटा सानो विमानस्थल रहेको छ । जसलाई विस्तार गर्ने कार्य भईरहेको छ । पारो र गेलेफुको सबैभन्दा ठूलो भिन्नता भनेको यसको भौगोलिक बनावट हो । गेलेफु समथर परेको छ । यहाँ रनवे लामो बनाउन प्रयाप्त स्थान छ र यहाँ जोसुकै पाइलटले पनि जम्बो जेट विमान उडान गर्न सक्छन् ।
केही वर्षभित्र यो विमानस्थलमा भुटानबाट उत्तर अमेरिका,युरोप र मध्य–पूर्व एशियामा प्रत्यक्ष उडान हुने सम्भावना रहेको छ ।
भुटानको उड्ययन क्षेत्रको इतिहास त्यति लामो छैन । ड्रुक एयरको स्थापना सन् १९८१ मा भएको हो । यसका साथै भुटानमा केही सीमित संख्यामा मात्रै लाइसेन्स प्राप्त पाइलट रहेका छन् ।