काठमाण्डौ । एलन मस्क ४०० अर्ब डलर सम्पत्ति पुग्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएसँगै बढ्न थालेको मस्कको सम्पत्ति पहिलोपटक ४०० अर्ब पुगेको हो ।
विश्वकै धनाढ्य व्यक्तिको रुपमा रहेका मस्कको कम्पनी स्पेसएक्सको सेयरमूल्यमा आएको उछालका कारण उनले यो दुलर्भ उपलब्धि हासिल गरेका हुन् । ब्लूमबर्ग इन्डेक्सका अनुसार बुधबार स्पेसएक्सको बजार पूँजीकरण करिब ५० अर्ब डलरले बढेको छ ।
यससँगै एकदिनमा मस्कको सम्पत्ति ६२.८ अर्ब डलरले बढेको छ । यस्तै विश्वका शीर्ष ५०० धनाढ्यको कुल सम्पत्ति १० ट्रिलियन डलर पुगेको ब्लूमबर्गले जनाएको छ । यो सम्पत्ति जर्मनी, जापान,अष्ट्रेलिया जस्ता देशहरुको गत वर्षको संयुक्त जीडीपी हाराहारी हुन आउँछ ।
सन् २०२४ को सुरुवातसँगै मस्कले थप २१८ अर्ब डलर सम्पत्ति जोडेका छन् । जुन शीर्ष ५०० धनाढ्यमध्येका कुनैले पनि आर्जन गरेको भन्दा बढी हो ।
यस्तै यो वर्ष मस्कको अर्को कम्पनी टेस्लाको मूल्य पनि ७१ प्रतिशतले बढेको छ । बुधबारको कारोबारमा टेस्लाको मूल्य बढेर प्रतिकित्ता ४२४.७७ डलर कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि कम्पनीको उच्च मूल्य सन् २०२१ मा कायम भएको थियो ।
डोनाल्ड ट्रम्पले स्वचालित कारका लागि सहज नीति ल्याउने र ईभी सवारीका लागि ट्याक्स क्रेडिट हटाउने विश्वासका साथ टेस्लाको मूल्यमा उछाल आएको छ ।
यस्तै गत मे महिनामा पूँजी जुटाएको एआई स्टार्टअप एक्सएआईको बजार मूल्य पनि दोब्बरले बढेर ५० अर्ब डलर पुगिसकेको छ । बुधबार स्पेसएक्सले कर्मचारी र भित्रि व्यक्तिहरुको १.२५ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने निर्णय गरेको छ ।