काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले आज यस्तो निर्णय गरेको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
लामछानेलाई सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।
गत कात्तिक २ गते काठमाण्डौस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेविरुद्ध गत पुस ७ गते कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।